काठमाडौं, चैत ४-
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकपटकको चुनावी जितले मात्रै दीर्घकालीन राजनीतिक सफलता सुनिश्चित नहुने टिप्पणी गरेका छन् । पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आज सो धारणा सावर्जनिक गरेका हुन् ।
भारतको सन् १९८४ को आम चुनावको उदाहरण दिँदै त्यतिबेला देखिएको ‘राजीव लहर’लाई अहिले नेपालमा देखिएको ‘बालेन लहर’सँग तुलना गर्दै उनले लेखेका छन्, ‘चुनावी लहर वा एकपटकको ठूलो जितले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्दैन ।’
पोखरेलका सन् १९८४ मा भारतको लोक सभामा राजीव गान्धी नेतृत्वको कांग्रेस ९आई० ले ऐतिहासिक सफलता हासिल गरेको थियो । तर, त्यसपछिका वर्षहरूमा कांग्रेस क्रमशस् कमजोर बन्दै गएको र भाजपा विस्तारै सशक्त बन्दै अघि बढेको पोखरेलको विश्लेषण छ । अहिले नरेन्द्र मोदीको नेतृत्वमा भाजपा लगातार तेस्रो कार्यकालसम्म सरकारमा पुगेको उदाहरण दिँदै उनले दीर्घकालीन सफलता संगठन, कार्यक्षमता र निरन्तर जनसमर्थनमा निर्भर रहने बताएका छन् ।
नेपालको सन्दर्भमा पनि चुनावी ‘लहर’ मात्र निर्णायक नहुने उल्लेख गर्दै पोखरेलले लेखेका छन्, ‘जनअपेक्षा पूरा गर्ने क्षमता, संगठनको सुदृढीकरण, र निरन्तर जनसमर्थन कायम राख्ने रणनीति नै दीर्घकालीन सफलताको आधार हुन् ।’









