सुर्खेत ११ माघ
आइतबार भएको राष्ट्रिय सभा निर्वाचनअन्तर्गत मतदानबाट नेपाली कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही निर्वाचित भएका छन् । कर्णालीबाट दुई पदका लागि भएको निर्वाचनमा शाही ‘अन्य’ कलस्टरबाट निर्वाचित भएका हुन् ।
उनले प्रदेशसभातर्फबाट २५ र स्थानीयतर्फ १०० मत पाएका प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए । उनले अन्य कलस्टरमा प्रतिस्पर्धा गरेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बा बुद्धिप्रसाद शर्मालाई पराजित गरे । शर्माले प्रदेशसभातर्फ १३ र स्थानीयतर्फ ५० मत प्राप्त गरेका थिए ।
स्मरण रहोस् राष्ट्रिय सभामा निर्वाचित शाही २०७९ को प्रदेश सभा चुनावमा जनताबाट पराजित नेता हुन् । त्यो पनि गठबन्धन हुँदाहुँदै । ०७९ को प्रदेश सभा चुनावमा कांग्रेस–माओवादी र एकीकृत समाजवादीबिच गठबन्धन थियो । शाही जुम्ला (१)बा गठबन्धनका साझा उम्मेदवार थिए । तर आफूले टिकट नपाएको भन्दै कांग्रेसकै नेता देवेन्द्रबहादुर शाही ललितजंगविरुद्ध बागी लडे ।
पानीको धारा चुनाव चिन्ह लिएर चुनावमा गएका देवेन्दले गठबन्धनका साझा उम्मेदवार ललितजंगलाई १ हजार ८९९ मतान्तरले हराइदिए । बागी लडेका शाहीले ९ हजार ६५४ मत पाए भने कांग्रेसबाट लडेका शाहीले ७ हजार ७५५ मत मात्रै पाए ।
त्यसपछि पार्टीको आधिकारिक निर्णयविरुद्ध उम्मेदवारी दर्ता गराएको भन्दै उनै शाहीको जोडबलमा प्रदेश सभा निर्वाचित शाहीलाई कांग्रेसले पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गर्यो, किनकि ललितजंग कारबाही गर्ने ठाउँ कर्णाली प्रदेश कमिटीका सभापति थिए ।
यसरी गठबन्धन हुँदाहुँदै पनि जनताबाट पराजित भएका शाहीले यो पटक संसद् छिर्ने सजिलो बाटो राष्ट्रिय सभा रोजे । उसो त कर्णालीमा यसअघि अन्य कलस्टरतर्फ माओवादीका मायाप्रसाद शर्मा सांसद थिए । उनको ठाउँमा शाही निर्वाचित भएका हुन् । अझ रोचक पक्ष त के छ भने जसलाई शाहीले कारबाही गरेका थिए, उनै दवेन्द्रबहादुर शाहीले अहिले भने भोट दिएका छन् । आइतबारको मतदानका क्रममा प्रदेश सांसद शाहीले आफुले पराजित गरेका शाहीलाई भोट दिएका हुन् ।
प्रदेश सांसद शाही प्रदेश सभाको अभिलेखमा अझै पनि स्वतन्त्र उम्मेदवार छन् । उनलाई कांग्रेसले एक वर्षअघि नै कारबाही फुकुवा गरिसक्यो, यद्यपि अहिलेसम्म निर्वाचन आयोगमा अद्यावधिक नहुँदा र प्रदेश सभामा जानकारी नगराउँदा शाही अझै पनि स्वतन्त्र सांसदका रूपमा छन् । बाहिरी रूपमा उनी कांग्रेस भइसकेका छन्, सोही अनुसार उनले राष्ट्रिय सभा भोट ललितजंगलाई नै दिए ।
राष्ट्रिय सभा निर्वाचित ललितजंगले प्रदेश सभातर्फ २५ भोट पाए, जसमा १० भोट एमालेको हो भने बाँकी १४ कांग्रेस र एक भोट उनै स्वतन्त्र सांसद शाहीको हो । उनी विगतदेखि नै कांग्रेसभित्र इतर पक्ष हुन् ।
कांग्रेस प्रदेश सभापतिसमेत रहेका शाहीले उम्मेदवार सिफारिसका क्रममा राष्ट्रिय सभाका लागि आफ्नो नाम पनि सिफारिस गर्न लगाएका थिए । कांग्रेसबाट राष्ट्रिय सभा उम्मेदवारका लागि दर्जन बढी नेताहरू अन्य जिल्लाबाट सिफारिस भएका थिए । तर केन्द्रमा पार्टी पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काका विश्वासपात्र रहेका शाहीले नै टिकट पाए ।
शाहीले यसअघि ०७० सालको दोस्रो संविधान सभा निर्वाचन जितेका थिए । त्यो बेला उनले माओवादीका गजेन्द्र महतलाई पराजित गरेका थिए ।







