काठमाडौँ, ९ माघः
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिताविपरीत बालबालिकाको प्रयोग नगर्न तथा राजनीतिक दलको घोषणापत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकता दिन नागरिक क्षेत्रबाट आग्रह गरिएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आज आयोजित छलफल कार्यक्रमका वक्ताहरूद्वारा निर्वाचन अवधिमा सरकार, निर्वाचन आयोग, राजनीतिक दल र सम्बद्ध पक्षले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षालगायत अधिकारका न्यूनतम विषयलाई प्रथमिकतामा दिँदै बालअधिकार सुनिश्चित गर्न आग्रह गरिएको हो ।
वक्ताहरूले बालबालिकासम्बन्धी ऐन, २०७५, निर्वाचन आचारसंहिता, २०८२ लगायत ऐनमा भएका प्रावधानमा १८ वर्षभन्दा मुनिका बालबालिकालाई निर्वाचनका गतिविधि, प्रचारप्रसार, आमसभा, जुलुस, र्यालीमा प्रयोग गर्न वा गराउन नहुने स्पष्ट उल्लेख भएकाले सोको पूर्ण पालना हुनुपर्नेमा जोड दिनुभयो ।
एनसिई नेपालका अध्यक्ष लवराज वलीले १३ देखि २८ वर्ष उमेर समूहलाई जेनजी समूह भनिने स्थितिमा १८ वर्षभन्दा मुनिका बालबालिकाको उमेर समूहलाई जेनजीका नाममा राजनीतिक गतिविधि र निर्वाचनमा प्रयोग गर्न÷गराउन नहुने बताउनुभयो ।
उहाँले नागरिक समाज र अधिकारकर्मीबाट यस सम्बन्धमा स्पष्ट धारणा आएकाले विद्यमान कानुन कार्यान्वयनका लागि सम्बन्ध सबैलाई आग्रह गर्नुभयो ।
अध्यक्ष वलीले निर्वाचन हुनुपूर्व, निर्वाचनको दिन र निर्वाचन भएपश्चातका कार्यक्रममा प्रचारप्रसार, जुलुस, विजयोत्सवलगायत गतिविधि हुने भएकाले ती गतिविधिमा बालबालिकाको प्रयोग गर्न नपाइने व्यवस्था उल्लङ्घन भएको पाइए कानुनी कारबाही हुनुपर्ने विषयमा निर्वाचन आयोग र सम्बद्ध निकायलाई आफूहरूले ध्यानाकर्षण गराउने उल्लेख गर्नुभयो ।






