गैँडाकोट, ९ माघ-
नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी गैँडाकोट महोत्सव भोलि शनिबार समापन गरिने भएको छ । पुस २५ देखि सुरु भएको महोत्सव सफल भएको भन्दै शनिबार समापन गर्न लागिएको हो ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाले स्थानीय उत्पादन प्र्रवद्र्धन र बजारीकरणका लागि महोत्सव महत्वपूर्ण बनेको बताए । महोत्सव उद्घाटनका दिन निकालिएको वृहत शोभायात्राका सहभागीहरुमध्ये उत्कृट हुने समूहलाई समापनका अवसरमा पुरस्कृत गरिने सापकोटाले बताए । महोत्सवको शोभायात्रामा जिल्लामा क्रियाशिल धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक, खेलकुदलगायत विभिन्न क्षेत्रबाट ३५० बढी समूहको सहभागिता रहेको थियो ।
संघका महासचिव एवम् महोत्सव सचिवालय संयोजक तेजनारायण पाण्डेले स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको बताए । आज शुक्रबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै उनले महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका जानकारी दिए । यस संस्करणको महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको पाण्डेले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका बताए । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरण गर्नमा महत्वपूर्ण भूमिका खेलेको कँडेलको भनाइ छ ।
संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको बताए । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै सापकोटाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत शुक्रबार चर्चित गायक पुष्कल शर्मा, कला लम्साल, राशी रिजाल, बन्दना विश्वकर्मा, राकेश विकलगायतको प्रस्तुती रहेको थियो ।






