गैँडाकोट, ५ माघ ।
चौथो गैँडाकोट महोत्सव २०८२ को १९ हजार दर्शकले अवलोकन गरेका छन् । नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा जारी महोत्सवको आज एकै दिन १९ हजार हजार दर्शकले अवलोकन गरेका जनाइएको छ ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको हो । सोमबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको भन्दै उनले महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका जानकारी दिए । माघ १० गतेसम्म सञ्चालन हुने महोत्सवमा ओपेरा हाउस, जलपरी शो, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए ।
महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको उनले बताए ।
संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक कँडेलले स्थानीय कृषि र उत्पादनको प्रवद्र्धन एवम् बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमान गरिएको सापकोटाको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै सापकोटाले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत सोमबार चर्चित गायक राजनराज शिवाकोटीसहितका कलाकारहरुले प्रस्तुती राखेका छन् । महोत्सवका सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालकाअनुसार महोत्सव अन्तर्गत सोमबार चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यस्तै नन्दु परियार, टीका सरा राना, सरिता गुरुङ श्रेष्ठलगायतले प्रस्तुती राखेका लम्सालले जानकारी दिए ।
मंगलबार महोत्सवको मुख्य आकर्षणको रुपमा चर्चित गायिका शान्तिश्री परियारलगायतका कलाकारको प्रस्तुती रहने लम्सालले बताए । मंगलबार महोत्सवमा शान्तिश्रीसँगै सिर्जना खत्री हाउडे माया, सीमा थापा मगर, दामोदर बस्याल एवम् अन्य स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले जानकारी दिए ।






