गैँडाकोट, ४ माघ-
नारायणी नदी किनारमा जारी चौथो गैँडाकोट महोत्सवमको आज आइतबार १४ हजार दर्शकले अवलोकन गरेका छन् । आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार उपसमिति संयोजक शालिकराम सापकोटाकाअनुसार आइतबार पनि महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रह्यो ।
स्थानीय उत्पादनसँगै स्थानीय कला र संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सव आयोजना गरिएको सापकोटाले बताए । सापकोटाकाअनुसार महोत्सवमा नवलपुरबाट मात्रै नभइ चितवन र तनहुँ सहित अन्य क्षेत्रबाटसमेत दर्शकहरु आएका छन् । पुस २५ गतेदेखि सुरु भएको महोत्सव माघ १० गतेसम्म सञ्चालन हुने सापकोटाले बताए ।
महोत्सवमा ओपेरा हाउस, जलपरी, मुस्ताङको चौरीले समेत दर्शकहरुको मन खिचेको सापकोटाले बताए । महोत्सवमा कृषि प्रदर्शनी, अटो, रेष्टुरेन्ट, व्यापारिक गरी २५० स्टल तथा बालउद्यान रहेका सापकोटाको भनाइ छ । महोत्सवले स्थानीय कृषि र उत्पादनलाई बजारीकरणमा सघाउने विश्वास लिइएको उनले बताए ।
संघका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सवका मूल संयोजक छवि कँडेलले स्थानीय कृषि र स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने तथा २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार हुने अनुमन गरिएको कँडेलको भनाइ छ । महोत्सव अवलोकनका लागि १०० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।
विद्यार्थीका लागि ७० रुपैयाँको टिकटको व्यवस्था गरिएको भन्दै कँडेलले ज्येष्ठ नागरिक, अशक्त र अपाङ्ग एवम् शैक्षिक संस्थाबाट संस्थागत रुपमा सहभागी भएका विद्यार्थीहरुलाई महोत्सवस्थलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए ।
यसैबीच, महोत्सवको सांस्कृति कार्यक्रम अन्तर्गत आइतबार मेलिना राईसहितका कलाकारहरुले प्रस्तुती राखेका छन् । आइतबार दिनभर महोत्सव परिसरमा मेलिना राईसहित सम्झना श्रेष्ठ, शिव थापा, मञ्जु विकलगायतले प्रस्तुती राखेका छन् । त्यस्तै स्थानीय कलाकारहरुले समेत प्रस्तुती राखेका लम्सालले बताए ।
महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार राजनराज सिवाकोटी, नन्दु परियार, टीका सरा राना, सरिता गुरुङ श्रेष्ठको प्रस्तुती रहने लम्साको भनाइ छ । त्यस्तै कार्यक्रममा स्थानीय कलाकारहरुको समेत सांस्कृतिक प्रस्तुती रहने लम्सालले बताए ।






