म्याग्दी, माघ ३-
प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सूचारु भएपछि जिल्लावासीलाई सहज भएको छ ।
शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै भएपछि पोखरा जाँदा हुने खर्च र समयको बचत भएको बताउनुभयो ।
“पोखरा जानुपरेको भए रु एक लाखभन्दा बढी खर्च हुने रहेछ”, उहाँले भन्नुभयो, “बेनीमै एपेन्डिसको शल्यक्रिया भएपछि रु १० हजारलेनै पुग्यो ।” सहरका सरकारी अस्पतालमा बेड नपाउने र निजी अस्पतालमा पुगेर उपचार गर्न नसक्ने आर्थिक रूपमा विपन्न, भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणहरूलाई प्रदेश अस्पतालको शल्यक्रिया सेवा प्रभावकारी बनेको छ ।
रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटकी जमुना किसानले २१ वर्षदेखिको स्त्रीरोगसम्बन्धी समस्याको यसै हप्ता बेनी अस्पतालमा शल्यक्रिया गर्नुभयो । “भर्ना भएको भोलिपल्टै शल्यक्रिया भयो”, उहाँले भन्नुभयो, “शल्यक्रिया सफल भएपछि २१ वर्षदेखिको समस्या निको भएर घर फर्कदैछु ।”
विशेषज्ञ चिकित्सक अभावमा अस्पतालमा कात्तिक र मङ्सिर महिनामा शल्यक्रिया सेवा बन्द भएका थिए । प्रदेश सरकारले स्त्री तथा प्रसूतिरोग र सर्जन चिकित्सकको व्यवस्था मिलाएपछि पुस महिनायता सेवा नियमित छ ।
प्रदेश अस्पताल बेनीका प्रमुख डा हेमन्त बास्तोलाले पुष महिनामा मात्रै २१ वटा शल्यक्रिया गरिएको जानकारी दिनुभयो । “जुम्ल्याह बच्चा भएका गर्भवतीलाई पनि यहीनै शल्यक्रियामार्फत प्रसूति गराएका छौँ”, उहाँले भन्नुभयो, “सिमित स्रोत, साधन र जनशक्तिका बाबजुत यहाँ आएका बिरामीलाई सम्भव भएसम्म बाहिर जानु नपरोस भन्ने प्रयास गरेका छौँ ।”
बेनी अस्पतालबाट म्याग्दी, मुस्ताङ, पर्वतको जलजला, बागलुङको तमानखोला गाउँपालिकाका बासिन्दाले सेवा लिने गरेका छन् । बेनी नगरपालिका–६ की सुष्मा पौडेलले बेनी अस्पतालमा रोग पहिचानका लागि आवश्यक थप उपकरण र दक्ष जनशक्तिको नियमित व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।
बेनी अस्पतालले अन्तरङ्ग र बहिरङ्गसहित हाडजोर्नी, दन्त, आँखा, बच्चा उपचार कक्ष, हिंसा प्रभावितका लागि अल्पकालीन सेवा केन्द्र, डायलासिस सेवा सञ्चालन गर्दै आएको छ । मेडिसिन, दन्तरोग, मनोसामाजिक विशेषज्ञ र ११ जना मेडिकल अधिकृत कार्यरत छन् ।
वार्षिक ६० हजारभन्दा बढीले सेवा लिने बेनी अस्पतालको विसं २०७४ देखि सुरु भएको भवन निर्माण कार्यले पूर्णता नपाउनु र दरबन्दीअनुसारका चिकित्सक तथा स्वास्थ्यकर्मी नहुनु मुख्य चुनौति बनेको छ । बेनी अस्पताललाई विसं २०७२ मा १५ बाट ५० श्यया क्षमतामा स्तरोन्नति गरिएको थियो । रासस






