२ पुस, काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् ।
ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनलेमात्रै मुलुकलाई संविधानसम्मत अघि बढाउन सकिने बताएकी हुन् ।
‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
उनले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अर्जुनदृष्टिका साथ सरकारले अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताइन् ।
निर्वाचनमार्फत् व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो ।
‘निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु,’ उनले भनिन् ।
२३–२४ भदौको जेनजी आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेको बताइन् ।
समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनु नहुने भन्दै उनले शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताइन् ।
‘खराब तत्वको विरोध गर्न समुदायको पनि भूमिका उत्तिकै हुन्छ,’ प्रधनमन्त्री कार्कीले भनिन्, ‘आउनुहोस्, यसमा हातेमालो गरौं ।’






