नवलपुर, २८ मङ्सिरः
‘युवा बोले राष्ट्र बोल्छ’ भन्ने दृष्टिकोण तथा ‘स्पष्ट, आत्मविश्वासी र जिम्मेवार युवा पुस्ता उत्पन्न गर्ने राष्ट्रिय अभियान’ भन्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पर्ने नवलपुर जिल्लाको देवचुली नगरपालिका -१७, पिप्रहरमा रहेको पिप्रहर सामुदायिक होमस्टेमा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ को सम्पन्न पुष २८ गते, सोमबार गरिने भएको छ ।
नेपालको वर्तमान सामाजिक, शैक्षिक तथा डिजिटल परिवेशमा युवा पुस्ताको भूमिका अत्यन्त महत्वपूर्ण बन्दै गएको र यसै आवश्यकता र समयसापेक्ष मागलाई मध्यनजर गर्दै सरल नेपालको आयोजना तथा लायन्स क्लब ३२५ आर क्लस्टर ३ को प्रस्तुतिमा राष्ट्रिय स्तरको ‘अनलाइन सार्वजनिक वक्तृत्वकला’ घोषणा गरिएको छ, जसले देशका सम्पूर्ण युवाहरूलाई एकीकृत डिजिटल मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । यो कार्यक्रम विशेष रूपमा युवाहरूलाई लक्षित गरेर आयोजना गर्न लागिएको हो । सरल नेपालको अध्यक्ष तथा कार्यक्रम संयोजक समिर लामिछानेले भने‘युवा पुस्तामा विशाल सम्भावना छ, तर अभिव्यक्ति कमजोर हुँदा उनीहरूको क्षमता दबिन्छ । यो कार्यक्रमले उनीहरूको आवाज, प्रभाव र आत्मविश्वासको ढोका खोल्ने छ ।’
उक्त कार्यक्रममा देशका जुनसुकै स्थानबाट सहभागिता हुने छन्, भने समय र लागत दुवैको बचत, समान अवसर, डिजिटल प्रविधिको उपयोग, सहज प्रतिष्पर्धा वातावरणजस्ता फाइदाहरू प्रदान गर्ने छ । सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको १५ देखि २९ वर्षका युवाहरूमा नेतृत्व, संचार सीप र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको यो कार्यक्रम युवा – मैत्री अभिव्यक्ति प्लेटफर्मका रूपमा अघि सारिएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा विषयको स्पष्टता, भाषिक कौशल, प्रस्तुतीकरण शैली, तर्कशक्ति, समय व्यवस्थापन र डिजिटल स्टेज म्यानरको आधारमा निर्णायकद्दारा मूल्यांकन हुने छ ।
त्यस्तै, उक्त कार्यक्रममा सहभागिताको लागि नेपाली युवा हुनु पर्ने, सार्वजनिक बोलाइमा चासो भएको, मोबाइल वा ल्यापटप, इन्टरनेट सुविधा भएको हुनु पर्ने छ । उक्त प्रतियोगिता २ चरणमा सञ्चालन हुने छ, जहाँ पहिलो चरण पूर्ण रूपमा खुला रहने छ र कुनै विषयवस्तुमा पनि प्रतिबन्ध नहुने भएकाले सहभागीहरूले आफ्ना विचार, अनुभव र सिर्जनशीलतासहित प्रस्तुत हुन सक्नेछन् ।
यस्तै, दोस्रो चरणमा छनोट हुनको लागि आयोजकले नेपालभरिबाट आएको भिडियोमार्फत उनीहरुको प्रस्तुतिको आधारमा टप २० प्रतियोगी दोस्रो चरणको लागि छनोट गर्ने छ, भने उनीहरुको लागि १२ दिनको समय रहने छ, उक्त समयमा आयोजकले उचित शिर्षक प्रदान गर्ने छ, त्यस शिर्षकमा भिडियो बनाएर पठाउनु पर्ने छ । प्रतियोगितामा छनोट भएका २० जनाले २०८२ साल पुस ८ गतेदेखि आफ्नो भिडियो पठाउनु पर्ने छ, भने आयोजकले उक्त भिडियोको लागि १५ दिनको समय दिने छौँ ।
दोस्रो चरणमा छनोट भएका प्रतियोगीहरुको भिडियो Saral Nepal/सरल नेपाल को फेसबुक पेजमा अपलोड गर्ने र छनोट प्रक्रिया ५० प्रतिशत उनीहरुको लाइक, कमेन्ट र शेयरको आधारमा हुने छ, भने ५० प्रतिशत निर्णायक मण्डलको हातमा हुने छ । त्यस पश्चात आयोजकले केही दिनको अन्तारलमा पहिलो, दोस्रो र तेस्रो हुने विजेताको नाम घोषणा गर्ने र प्रथम हुनेलाई ३० हजार रुपैयाँ, प्रमाण – पत्र र मेडल, दोस्रो हुनेलाई २० हजार रुपैयाँ, प्रमाण – पत्र र मेडल तथा तेस्रो हुने लाई १० हजार रुपैयाँ, प्रमाण – पत्र र मेडलद्दारा पुरस्कृत गरिने छ ।
उक्त कार्यक्रमले देशभरिका युवाहरूलाई एउटै डिजिटल मञ्चमा ल्याउँदै एक चरणमै आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने छ । देशभरका युवाहरूलाई यस अभियानमा जोडिन आयोजकले आग्रह गरेको छ । उक्त कार्यक्रममा डिजिटल पार्टनरको रुपमा स्वस्तिक प्रोडक्सन, मिडिया पार्टनरको रूपमा जन अपडेट तथा ह्याप्पी एफ.एम. र सहकार्य साझेदारको रूपमा लियो क्लब अफ चितवन ग्रिन रहेका छन् ।
त्यसैगरी, कार्यक्रम व्यवस्थापन साझेदारको रूपमा मोक्षालय बहुउद्देशीय, सहयोगी संस्थाहरुको रूपमा युवा पहल: लुम्बिनी प्रदेश, युवा अभियान नेपाल, सामुदायिक विकास फाउण्डेशन नेपाल, मेडिकल पार्टनरको रूपमा जीवन सिटी अस्पताल प्रा.लि. ( कावासोती, नवलपुर ), अन्तर्राष्ट्रिय शिक्षा साझेदारको रूपमा लेड्रा कलेज, शिक्षा साझेदारको रूपमा लर्ड बुद्ध एकेडेमी अफ स्कूल अफ साइन्स एण्ड म्यानेजमेन्ट, परामर्श साझेदारको रूपमा निप्पोन एजुकेशनल सेन्टर र फार्मेसी साझेदारको रूपमा एसियन फार्मेसी रहेका छन् ।






