चितवन, कार्तिक २३–
नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाईज चितवन राइनोजले दुई दिन ट्यालेन्ट हन्ट गर्ने भएको छ । यसपटक बागमती प्रदेशको राजधानी हेटौंडालाई समेटेर चितवनले ‘ट्यालेन्ट हन्ट’ गर्न लागेको हो ।
पहिलो दिन भोलि (सोमबार) हेटौंडा, भरतपुर र रत्ननगरका विभिभन्न ठाउँमा गरी पहिलो चरणको ट्यालेन्ट हन्ट हुने चितवन राइनोजले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । पहिलो दिन मकवानपुरमा हेटौंडा स्पोर्टस् एकेडेमी, चितवनमा इस्र्टन क्रिकेट एकेडेमी र भरतपुर क्रिकेट एकेडेमीमा ट्यालेन्ट हन्ट हुनेछ । उक्त छनोट विहान ९ बजेदेखी सुरु हुने चितवन राइनोजले जनाएको छ ।
त्यस्तै दोस्रो दिन मंगलबार पहिलो चरणमा छनोट भएकाहरु मध्येबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा अन्तिम छनोट हुने राइनोजले जनाएको छ । अन्तिम छनोट पनि विहान ९ बजेदेखि नै सुरु हुनेछ ।
ट्यालेन्ट हन्ट कार्यक्रम चितवन राइनोजको दीर्घकालीन प्रतिबद्धताको हिस्सा रहेको क्लबले जनाएको छ । जसअन्तर्गत ग्रासरुट स्तरबाट क्रिकेटलाई सुदृढ गर्दै युवाहरूलाई आफ्नो प्रतिभा देखाउने व्यावसायिक प्लेटफर्म प्रदान गरिने विश्वास छ। चयन भएका खेलाडीहरूलाई उत्कृष्ट प्रशिक्षकहरूले मूल्यांकन गर्ने अवसर प्राप्त हुने र उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई भविष्यमा चितवन राइनोजसँग प्रशिक्षण गर्ने वा टिमको प्रतिनिधित्व गर्ने मौका समेत प्रदान गरिने क्लबले जनाएको छ।
नेपाल प्रिमियर लिग यसपटक मंसिर १ गतेदेखि टियु क्रिकेट मैदानमा हुँदैछ । पहिलो संस्करणमा चितवन चौथो भएको थियो । चितवन राइनोज अलराउण्डर कुशल मल्लको कप्तानीमा रहेको छ । चितवनमा ४ जना विदेशी खेलाडी समेत सार्वजनिक गरि सकेको छ ।














