चितवन, कार्तिक २२-
नारायणी नदी किनारमा जारी प्रथम खेलकुद तथा वृहत व्यापार महोत्सवमा आज दर्शकको घुँईचो लागेको छ । पाँचौ दिन आज मात्रै ५० हजार भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् ।
आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीका अनुसार आज एकैदिन ५० हजार भन्दा बढी टिकट बिक्री भएको छ । आज अपेक्षा भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेको उनले बताए । हालसम्म करिब एक लाख ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् ।
यसैबीच भरतपुर महानगरपालिका प्रमुख मेयर रेनु दाहालले पनि आज महोत्सव अवलोकन गरेकी छन् । मेयर दाहाल र उपमेयर चित्रसेन अधिकारीलगायतले महोत्सव अवलोकन गरेका हुन् । महोत्सवमा बिशेष गरी लन्डन ब्रिज, दुबै सिटी, बुर्ज खलिफा, बुर्ज अल अरबलगायतले दर्शकहरुलाई आकर्षित गरेको छ ।
यता पाँचौ दिन आज चर्चित लोक तथा दोहोरी गायिका प्रिती आलेले दर्शकहरुलाई मनोरन्जन प्रदान गरेकी छिन् । गायिका प्रितीले आफ्ना चर्चित गीत गाउँदा दर्शकहरु झुमेका थिए । महोत्सवमा भोलि आइतबार चर्चित गायिका एन्जिला रेग्मी र नेपाल आइडल सिजन ६ की प्रतिस्पर्धी दर्शना गन्धारी आउनेछिन् ।
यसैबीच महोत्सवमा आजबाट कराँते खेल सुरु भएको छ । यस अघि भलिबल खेल सम्पन्न भइसकेको छ भने तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु पनि हुनेछन् । मंसिर २ गतेसम्म चल्ने महोत्सवमा तीन सय भन्दा बढी स्टलहरु रहेका छन् ।
महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा हरेक दिन नेपालका चर्चित कलाकारहरुले प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६:३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।














