चितवन, कार्तिक १९-
भरतपुर महानगरपालिका १ नारायणी नदी किनारमा जारी प्रथम खेलकुद तथा वृहत व्यापार महोत्सवको मुख्य प्रवेशद्धारमा लन्डन ब्रिज निर्माण गरिएको छ । लन्डन ब्रिजको झल्को दिने गरी प्रवेशद्धार नै लन्डन ब्रिजको प्रतिमा निर्माण गरिएको हो । यही लन्डन ब्रिज हुँदै दर्शकहरु महोत्सव परिसर भित्र प्रवेश गर्छन् । फरकपन दिनका लागि निर्माण गरिएको लन्डन ब्रिजले सुरुवाती दुई दिनमा नै दर्शकहरुलाई आकर्षित गरेको छ ।
महोत्सव अवलोकनका लागि जो कोही दर्शक लन्डन ब्रिजमा एकछिन अडिन्छन् । युवा पुस्ता हुन् वा वृद्धावृद्धा, कोही फोटो खिन्छन्, कोही सेल्फी लिन्छन् त कोही टिकटक भिडियो बनाउँछन् । दर्शकहरु लन्डन ब्रिजको प्रतिमामा रमाएका छन् । आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्की लन्डन ब्रिजप्रति दर्शकहरुको आकर्षण देखिएको बताउँछन् । आगामी दिनमा यसले दर्शकहरुलाई थप आकर्षित गर्ने आयोजकले विश्वास लिएको छ ।
दर्शकहरुले लन्डन ब्रिज चढेर महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको प्रतिमा भने निर्माणको क्रममा रहेको छ । तीन दिन लगातार वर्षा हुँदा काम प्रभावित भएको महोत्सव सह संयोजक पाल्देन लामाले जानकारी दिए । यसका लागि कुनै अतिरिक्त शुल्क लाग्नेछैन । दर्शकहरुले महोत्सव परिसर प्रवेशका लागि काट्ने टिकटबाट नै लन्डन ब्रिजको प्रतिमा हुँदै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावर हेर्न पाउनेछन् ।
यसैबीच महोत्सवमा आज बिच भलिवल आयोजना भएको छ । आज महिला र पुरुष दुबैतर्फको खेल भएको थियो । मंसिर २ गतेसम्म चल्ने महोत्सवमा भलिवलसँगै कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु पनि हुनेछन् । महोत्सवमा तीन सय भन्दा बढी स्टलहरु रहेका छन् । महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सवमा हरेक दिन नेपालका चर्चित कलाकारहरुले प्रस्तुति दिनेछन् । यस्तै हरेक दिन साँझ ६:३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।














