चितवन, कार्तिक १७-
नारायणी नदी किनारमा भोलि (मंगलबार) देखि सुरु हुने खेलकुद तथा बृहत व्यापार महोत्सवको तयारी पुरा भएको छ । आयोजक चितवन जिल्ला खेलकुद बिकास समितिले तयारी पुरा भएको जानकारी दिएको छ ।
मंसिर २ गतेसम्म चल्ने महोत्सवको भोलि बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले बिहान ११ बजे उद्घाटन गर्नेछन् । त्यस अघि बिहान ९ बजे झाँकीसहितको शोभा यात्रा निकालिनेछ । महोत्सव परिसरबाट सुरु हुने शोभायात्रा लीलाचोक, पोखरा बसपार्क, क्षेत्रपुर, लायन्सचोक, शहिदचोक, पुलचोक हुँदै पुन: महोत्सव परिसरमा पुगेर सकिनेछ ।
महोत्सवमा निकालिने झाँकी मध्य उत्कृष्ट ३ लाई क्रमश ३०, २० र १० हजार रुपैयाँले पुरस्कृत गरिनेछ ।
यस्तै उद्घाटनको अवसरमा विभिन्न खेलको डेमोन्स्ट्रेसन प्रस्तुत गरिने चितवन जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए । कार्कीका अनुसार उद्घाटनमा कराँते, तेक्वान्दोलगायतका खेलाडी र प्रशिशकहरुले डेमो प्रस्तुत गर्नेछन् ।
महोत्सव परिसरमा व्यापिरिक, कृषि, नेपाली उत्पादन, खाजालगायतका लागि ३ सय भन्दा बढी स्टल निर्माण गरिएको छ । तीन दिनको लगातरको वर्षाले केही असर गरे पनि दुई सिफ्टमा गरेर काम गरिएको महोत्सव संयोजक विकल क्षेत्रीले बताए । महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज निर्माण गरिएको छ । दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेर भित्र प्रवेश गर्नेछन् ।
लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले चितवनमा नै पहिलो पटक महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । यसका लागि कुनै अतिरिक्त शुल्क नलाग्ने उनले बताए ।
महोत्सवमा बिच भलिवल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, सेपाकताक्रो, एथ्लेटिक्स, वुद्धिचाललगायतका खेलहरु खेलाइनेछ । यस्तै नेपाली खेलकुदमा योगदान पुराएका विभिन्न विधाका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुलाई महोत्सवकै दौरान सम्मान गरिने आयोजकले जनाएको छ । महोत्सवका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई ७० रुपैयाँ र अपाङ्गता भएका तथा जेष्ठ नागरिकका लागि नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













