काठमाडौँ,असोज २७-
कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको अकबरे खुर्सानीमा विषादी भेटिएको छ । मकवानपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
सोमबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले १५ थरीका तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये अकबरे खुर्सानीमा अत्यधिक विषादीको मात्रा रहेको फेला परेको छ ।
नेपालमा कार्बामेट र अर्गानोफस्फेट गरी विषादीको दुई समूह परीक्षण हुँदै आएको छ । बजारमा कार्बामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।