चितवन, भदौ ३१ –
भरतपुरस्थित बोस्टन इन्टरनेसनल कलेजले स्नातक तहमा पढ्ने ३६ जना विद्यार्थीलाई ४२ लाख रूपैयाँबराबरको छात्रवृत्ति प्रदान गरेको छ । कलेजले एक जनालाई दुई लाख, पाँच जनालाई जनही एक लाख १० हजार, दस जनालाई जनही एक लाख २५ हजार र बीस जनालाई जनही एक लाख रूपैयाँ छात्रवृत्ति प्रदान गरेको हो ।
उक्त छात्रवृत्ति कलेजको स्नातक तहमा बिबिए, बिबिए–फाइनान्स, बिएचएम र बिसिएस आइटी पढ्ने विद्यार्थीले प्राप्त गरेको कलेजको अन्डरग्राजुयट डिरेक्टर पुष्प अधिकारीले बताए ।
कलेजले मङ्गलबार एक कार्यक्रमका बीच लक्की ड्रमार्फत छात्रवृत्तिको नतिजा सार्वजनिक गरेको हो । विद्यार्थीले भर्नाका बेला भरेको कुपनलाई लक्की ड्रबाट छनोट गरिएको थियो । कुपन छान्न कलेजमा अध्ययनरत विद्यार्थी, पूर्वविद्यार्थी र पत्रकारलाई लगाइएको थियो ।
बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले कलेजले टिएनई (ट्रान्सनेसनल एजुकेसन) नामक नयाँ कार्यक्रमको अवधारणा ल्याएको बताए । यस कार्यक्रमअन्तर्गत विद्यार्थीले एक वर्ष बोस्टनमा पढ्ने छन् भने दुई वर्ष अस्ट्रेलिया वा युकेको विश्वविद्यालयमा गएर पढ्ने छन् । कलेजले पाँचवटा उत्कृष्ट स्टार्टअप परियोजनालाई कुल आठ लाख रूपैयाँ बीउपुँजी प्रदान गरेको छ ।