गैँडाकोट जेठ १६
नवलपुर जिल्लाको विनयीत्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोलामा बाढी आएपछि नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान करिब सवा ६ बजेबाट खोलामा रहेको अस्थायी डाइभर्सनमाथिबाट बाढी बग्न थालेपछि सवारी आवागमन दुईतर्फी रुपमा बन्द भएको हो ।
सडक बन्द भएपछि यात्रु बोकेका गाडीहरू बीच बाटोमै रोकिएका छन् । लामो तथा छोटो दूरीका सयौं सवारी साधनहरू ठप्प हुँदा यात्रुहरू अलपत्र परेका छन् ।“विनयी खोलाको बहाव उच्च भएकाले डाइभर्सनमाथिबाटै पानी बग्न थालेको छ । अहिले तत्काल खुल्ने अवस्था छैन। केही घण्टा लाग्छ ” जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरिक्षक मधु नेपालले भन्नुभयो ।
प्रहरीले चालकहरूलाई आफूले प्रयोग गर्ने लेनमै सवारी चलाउन र अनावश्यक रुपमा अगाडि बढ्न खोज्नेतर्फ सचेत रहन अनुरोध गरेको छ । नारायणगढ–बुटवल सडक पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने अति व्यस्त खण्ड हो, जहाँ दैनिक हजारौं सवारी साधन आवतजावत गर्छन् ।