चितवन, बैशाख ५ –
पूर्व पश्चिम राजमार्ग अर्थात महेन्द्र राजमार्ग अन्तर्गत नारायणगढ–हेटौंडा खण्डभित्र पर्ने भरतपुरको गोन्द्राङ्देखि पुल्चोकसम्मको सडक उद्घाटन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज उक्त सडक उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा ओलीसहित उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको पनि सहभागिता रह्यो ।
नारायाणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको ६ किलोमिटर सडकलाई सिक्स लेनमा विस्तार गर्ने काम सकिएसँगै सडकको सवत्र चर्चा भइरहेको छ । एसियन मापदण्डमा बनेको सिक्स लेन हाइवेले यतिखेर चितवनको सदरमुकाम भरतपुरको सुन्दरतालाई थपेको छ ।
एक अर्ब १३ करोड लागतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत ६ लेनमा विस्तार गरिएको सडकको २०७७ माघ १७ गते तत्कालीन प्रधानमन्त्री ओलीले नै शिलान्यस गरेका थिए ।
सडकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले देश विकासमा पूूर्वाग्रह र मतभेद नराखी काम गर्न आग्रह गरे । पूर्व–पश्चिम राजमार्गलाई विभिन्न खण्डमा विभाजन गरी थप फराकिलो बनाउने काम भइरहेको प्रधानमन्त्री ओलीले बताए ।
सिक्स लेन सडकको जस प्रधानमन्त्री ओलीलाई कि भरतपुर महानगर प्रमुख रेनु दाहाललाई भन्ने विवाद चितवनमा यतिखेर व्यापक भइरहेको छ । उक्त कुरातर्फ इंगित गर्दै प्रधामन्त्रीले ओलीले अहिले चुनावको बेला नभएकाले त्यतातर्फ नलाग्न आग्रह गरे । एक भएर देश बनाउनुपर्ने आजको आवश्यकता रहेको बताउँदै उनले विकासका लागि मतभेद होइन एकतामा जोड दिनुपर्ने बताएका छन् ।
यसअघि दुई लेन मात्रै रहेको पुल्चोक गोन्द्राङ् सडकलाई विस्तार गरेर बीचमा चार लेन र दुवै साइडतर्फ थप १/१ सर्भिस लेन तयार गरिएको छ । सडक विस्तारसँगै दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ ।
कार्यक्रमलाई संवोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नेपाल सरकारको आन्तरिक बजेटबाट भरतपुर सिक्स लेन बनेको बताए ।