माधव सापकोटा
फागुन २१, चितवन
भरतपुर -४, धर्मचोक , लंकुस्थित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको ५० औं ब्रह्मोत्सव एवम् मन्दिरद्वारा संचालित गुरुकुलको ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित “श्रीमद्भागवतज्ञानमहायज्ञसहित – साङ्ग श्रीलक्ष्मीवैकुण्ठनाथ स्वर्णब्रह्ममहोत्सव- २०८१”को आज शुभारम्भ भएको छ।
महोत्सवको स्वामी कमलनयनाचार्य ” मुक्तिनाथ बाबा”ले दीपप्रज्वलन गरी उद्घाटन गर्नुभएको हो। कार्यक्रममा लक्ष्मीनारायण मन्दिर देवघाटका पीठाधीश श्रीधराचार्य, पूर्व सांसद गीता वाग्ले, एनआरएनएका उप- महासचिव सोम सापकोटा, मन्दिरका संस्थापक भूपतिदास सापकोटा, मन्दिर संचालक समिति सदस्य एवम् भरतपुर -४ का वडा सदस्य राधादेवी कंडेल लगायतको उपस्थिति रहेको थियो। गुरुकुल संचालक समितिका अध्यक्ष तुलसीराम सापकोटाको स्वागत मन्तव्य तथा श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्( गुरुकुलम्) का विद्यार्थीहरूको स्वस्तिवाचन र ६ वर्षीया बालिका अग्रता सापकोटाको पौराणिक मङ्गलाचरणका साथ आरम्भ भएको कार्यक्रममा मन्दिरद्वारा संचालित गुरुकुलका पूर्व प्राचार्य दामोदर सापकोटा र मन्दिरनिर्माणमा महत्त्वपूर्ण योगदान गरेकोमा गोपालप्रसाद कंडेललाई अभिनन्दन पत्र र दोसल्लाले सम्मान गरिएको थियो।
उद्घाटन हुनुअघि विभिन्न महिला समूह, संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर,ॐकार झण्डासहितको शोभा–कलशयात्राले धर्मचोक-लक्ष्मीनारायण मार्ग,वैकुण्ठचोक परिक्रमा गर्दै मन्दिरमा आएर समापन भएको थियो।
महोत्सवअन्तर्गत फागुन २५ गते बिहान १० बजेदेखि भगवान्को विशाल रथयात्रा ,फागुन २६ गते बिहान ९ बजेदेखि १०८ घडाद्वारा तिरुमन्जन,महाभिषेक ,कल्याणोत्सव
,सामूहिक व्रतबन्ध,फागुन २७ गते तदीयाराधना / भण्डाराको कार्यक्रम रहेको छ।
मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यको संरक्षकत्व र लक्ष्मीनारायण मन्दिर पाङ् , पर्वतका पीठाधीश स्वामी डा. कमलनयनाचार्य रिजालको प्रधान आचार्यत्वमा सम्पन्न हुने महोत्सवमा दैनिकरूपमा युवा कथावाचक गुरुकुलका पूर्व विद्यार्थी सन्तोष रामानुजदासले सङ्गीतमय श्रीमद्भागवत कथा- प्रवचन गर्नुहुने कार्यक्रम छ ।