काठमाडौँ, १० फागुनः
बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले माग गरेका छन् ।
आज यहाँ आयोजित ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय परामर्श’ कार्यक्रममा सरोकार भएकाहरूले यस्तो माग गरेका हुन् ।
विद्यालय उमेरका बालबालिकाका लागि पोषण अति आवश्यक भएको र यसले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाइस्तर वृद्धिको आधार निर्माण गर्ने भन्दै यसमा जोड दिनुपर्ने उहाँहरूको भनाइ थियो । “पोषणयुक्त खाजाले स्वस्थ शरीर र भोकरहित वातावरण निर्माण गर्छ, जसले शिक्षण सिकाइ र विद्यालयमा पहुँच विस्तारसमेत निकै टेवा पुग्छ । साथै स्वास्थ्य मानव पुँजी तयार गरी राष्ट्रको अर्थतन्त्रमा सहयोग पुग्ने हुँदा विद्यालयमा पोषणयुक्त खाजाका लागि लगानी बढाउन आवश्यक छ”, वक्ताहरूले भन्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेले प्राप्त सुझावलाई सम्पत्तिका रूपमा ग्रहण गर्दै गुणस्तरीय शिक्षा, प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षालाई गुणस्तरीय बनाउन र बालबालिकाको दिवा खाजा प्रवर्द्धन गर्न सबै सरोकारवालाको भूमिका रहेको बताउनुभयो । उहाँले बालबालिकामा लगानी बढाउन अन्तर मन्त्रालय, सरोकार भएका निकाय र अभिभावकलगायत सङ्घसंस्था सबैको दायित्व रहेको बताउनुुभयो ।