माधव सापकोटा
फागुन १, चितवन
भरतपुर–४,हरिकीर्तनचोक, लंकुस्थित हरिकीर्तन धार्मिक संस्था/ लक्ष्मीवेङ्कटेश मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ को शुभारम्भ भएको छ।
महायज्ञको शान्तिधाम , काभ्रेस्थलीका पीठाधीश चतुर्भुजाचार्य ” चूडामणि स्वामी”ले दीपप्रज्वलन गरी उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा लक्ष्मीनारायण मन्दिर देवघाटका पीठाधीश श्रीधराचार्य, शेषलक्ष्मीनारायण मन्दिरका पीठाधीश स्वामी पद्मनाभाचार्य , सुमधुर कथावाचिका यशोदादेवी माता, पूर्व मन्त्री एवम् सांसद विक्रम पाण्डे,वाग्मती प्रदेशका पूर्व मन्त्री विजय सुवेदी, वाग्मती प्रदेश सभासद उत्तम जोशी, भरतपुर -४ का वडाध्यक्ष अर्पण पोखरेल , एनआरएनएका उप- महासचिव सोम सापकोटा लगायतको उपस्थिति रहेको थियो।
मूल समितिका संयोजक टीकाराम कंडेलको स्वागत मन्तव्य तथा श्रीवैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्( गुरुकुलम्) का विद्यार्थीहरूको स्वस्तिवाचन र ६ वर्षीया बालिका अग्रता सापकोटाको पौराणिक मङ्गलाचरणका साथ आरम्भ भएको कार्यक्रम संस्थाका अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो ।कार्यक्रमको संचालन मूल समितिका सह- संयोजक फूलनाथ निउरेले गर्नुभएको थियो।
उद्घाटन हुनुअघि विभिन्न धार्मिक, सामाजिक, शैक्षिक संस्थाहरू, महिला समूह लगायतका संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर,ॐकार झण्डासहितको शोभा–कलशयात्राले
अद्वैतचोक-आनन्दचोक- यज्ञपुरी- नवदुर्गाचोक परिक्रमा गर्दै मन्दिरमा आएर समापन भएको थियो।
महोत्सवमा दैनिक रूपमा भगवान्को अर्चना, वेद, पुराण आदि धर्मग्रन्थहरूको पाठ, हवन हुने कार्यक्रम रहेको छ।
शालग्राम गुरु आश्रम नाग्लिवाङ्गका नारायणाचार्य / टीकाराम गुरुको प्रधान आचार्यत्व तथा चन्द्रप्रसाद सापकोटाको उपाचार्यत्वमा हुन गइरहेको महायज्ञमा लोकप्रिय कथावाचक स्वामी डा. चक्रपाणि आचार्यले दैनिकरूपमा श्रीमद्भागव प्रवचन गर्नुहुनेछ। महायज्ञअन्तर्गत फागुन २ गते सामूहिक व्रतबन्ध र तुलादान ,फागुन ५ गते कमलनयनाचार्य / मुक्तिनाथ बाबाबाट एकवर्षीय अखण्ड श्री हरिनाम संकीर्तन स्मारकको उद्घाटन,संस्थापक अध्यक्ष अखण्ड हरिकीर्तन बाबा उमानाथ कँडेललाई आचार्य / महन्त पदमा पट्टाभिषेक,प्रधान यज्ञाचार्य नारायणाचार्य/ टीकाराम गुरुबाट अतिथि गृहको उद्घाटन एवम् फागुन ९ गते करोड दीप प्रज्वलनको कार्यक्रम रहेको छ।