चितवन, माघ १ –
प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा पत्रकार हेमराज रिमालले ५ हजार ४ रुपैयाँ सहयोग गरेका छन् ।
पत्रकार महासंघ चितवनको कार्यसमिति सदस्य तथा प्रेस चौतारी चितवन कार्यसमिति सदस्यसमेत रहेका रिमालले आफ्नो जन्मदिनको अवसरमा प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा सो रकम सहयोग गरेका हुन् ।
पत्रकार रिमालले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहभागिता जनाएको बताए ।
पत्रकारहरूको पेशागत हकहित, पत्रकारिता क्षेत्रको विकासमा टेवा पुर्याउन तथा संस्थागत उन्नयनमा कल्याणकारी कोषले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास पत्रकार रिमालले व्यक्त गरे ।
चौतारी चितवन अध्यक्ष पण्डितले पत्रकार रिमालले आफ्नो जन्मदिनको अवसरमा गरेको सहयोगले संगठनको उद्देश्य प्राप्तिमा थप हौसला मिलेको भन्दै सन्देशका हिसाबले महत्त्वपूर्ण भएको बताए ।
अध्यक्ष पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरूलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रूपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे बापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो । कोषमा हालसम्म १ लाख २० हजार रकम संकलन भैसकेको छ ।
प्रेस चौतारी चितवनले पत्रकारलाई स्वास्थ्य उपचारमा सहयोग पुर्याउन, संगठन सुदृढीकरण र पत्रकारहरूको क्षमता अभिवृद्धि गर्न, पत्रकारहरू बिरामी वा दुर्घटनामा परी उपचार गर्नुपर्ने अवस्थामा आर्थिक सहयोग गर्न कोष स्थापना गरेको हो । साथै चौतारीमा आबद्ध कुनै सदस्यको मृत्यु भएमा कोषबाट आर्जित व्याज तथा अन्य सहयोगबाट २० हजार रुपैयाँ सहयोग गर्ने कल्याणकारी कोष कार्यविधिमा उल्लेख छ ।
प्रेस चौतारी चितवनले हालै क्यान्सर पीडित भएर उपचार गराइरहेका चौतारी चितवनका सदस्य पत्रकार भूपराज पाठकको उपचारका लागि ६२ हजार रुपैयाँ सहयोग गरेको थियो ।