चितवन, पुस २२–
ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (सोमबार) भएका खेलहरुमा प्रेमबस्ती मावि र सिद्धार्थ मावि केरुङ विजयी भएका भएका छन् ।
आज भएको पहिलो खेलमा प्रेमबस्ती माविले शहीद स्मृति माविलाई ८ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । शहीद स्मृतिले दिएको ९१ रनको लक्ष्य प्रेमबस्तीले १३.१ ओभरमा मात्र २ विकेट गुमाउँदै पुरा गरेको हो । प्रेमबस्तीको जितमा जय प्रकाशले अर्धशतकीय पारी खेले । उनी ४६ बलमा ५० रन बनाउँदै अविजित रहे । जारी प्रतियोगितामा अर्धशतक बनाउने उनी पहिलो खेलाडी बने । सुजन अधिकारीले १३ रन बनाए । शहीदस्मृतिका अभिमन्यु र विशाल भण्डारीले एक–एक विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको शहीद स्मृति मावि १७.३ ओभरमा ९० रनमै अलआउट भयो । उसका लागि अभिमन्युले २३, नविन पटेलले १६ रन बनाए । शहीद स्मृतिको ब्याटिङ ध्वस्त पार्न सुजन अधिकारीले १.३ मा मात्र ५ रन खर्चिदै ६ विकेट लिए । शितल सुवेदीले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिए । एकै इनिङमा ६ विकेट लिने पहिलो बलर बनेका सुजन प्लेयर अफ दि म्याच घोषित भए । यसअघि हिजो लक्ष्मी माविका गुलशन शर्माले ५ विकेट लिएका थिए ।
प्रतियोगिता अन्तरगत आजै भएको दोस्रो खेलमा सिद्धार्थ माविले राष्ट्रिय माध्यमिक विद्यालय तोरीखेतलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्यो । सिद्धार्थ माविले दिएको १६४ रनको लक्ष्य पछ्याएको तोरीखेत १२.४ ओभरमा ७१ रनमै अलआउट भयो ।
यसअघि पहिले ब्याटिङ गरेको सिद्धार्थ मावि १६३ रनमा अलआउट भयो । उसका लागि मनिष घिसिङले सर्वाधिक २२ रन बनाए । तोरीखेतका शैलेस दासले ३९ रन खर्चिएर ४ विकेट लिए भने आकाश गुरुङले २८ रन खर्चिएर २ विकेट लिए । खेलमा प्लेयर अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि (मंगलबार) पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा विहान ९ः३० बजे भानु मावि र मावि ढडघारी बीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा दिउँसो १ बजे प्रभात मावि र विश्वप्रकाश माविबीच प्रतिस्पर्धा हुनेछ ।
तीन महिनासम्म चल्ने प्रतियोगितामा ४७ विद्यालयको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ६१ खेल हुनेछन् । पहिलो चरणमा संस्थागत र सामुदायिक विद्यालयको छुट्टाछुट्टै नकआउट चरणमा छनोट खेल हुनेछ । विजेता टिमहरु दोस्रो चरणमा प्रवेश गर्नेछन् । छनोट पार गरेका टिम, पहिलो संस्करणका सेमीफाइनल पुगेर सिधै दोस्रो चरणमा प्रवेश गरेका ४ र बाई परेर सिधै दोस्रो चरणमा पुगेका एक टिमबीच लिग चरणमा खेल हुनेछन् । लिगका उत्कृष्ट चार टिमबीच सेमीफाइनल हुँदै फाइनल प्रतिस्पर्धा हुनेछ ।