काठमाडौँ, मङ्सिर २८ –
नेपाल प्रिमियर लिगको २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ । १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन जोडे । उनले ३५ बलमा ४ चौका र १ छक्का हिर्काए । सन्दीप जोराले २१ बलमा २४ रन जोडे । उनले २ छक्का प्रहार गरे ।
ओपनर अशुतोष घिरैयाले २१ बलमा १६ रन बनाए । उनले २ चौका प्रहार गरे । अर्का ओपनर अर्जुन साउदले ६ बलमा १३ रन जोडे । उनले ३ चौका हिर्काए ।
कप्तान रोहित पौडेल ८ बलमा १० रन बनाएर पभेलियन फर्किए । उनले २ चौका प्रहार गरे । साद बिन जाफर ११ बलमा १६ रन बनाएर रन आउट भए ।
कर्णालीका लागि जिसान मक्सुदले २ विकेट लिए । ३ ओभरमा उनले मात्र १२ रन खर्चिए । सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिए ।