चितवन, मंसिर २३–
भरतपुरमा सम्पन्न अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगितामा पोलार स्टार ईंग्लिस स्कुल प्रथम भएको छ । ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुर १२ को आयोजनामा भएको प्रतियोगितामा पोलार स्टार प्रथम भएको हो ।
ग्रीनल्याण्ड पब्लिकले ३० औं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरु आयोजना गरिरहेको छ । जस अन्तर्गत आज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा सनराईज ईंग्लिस बोर्डिङ स्कुल दोस्रो भएको छ । यस्तै प्रेरणा ईंग्लिस स्कुल तेस्रो हुँदा होली भिजन ईंग्लिस बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेको ग्रीनल्याण्डका सह प्राचार्य उपेन्द्र आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा चितवनका २५ संस्थागत विद्यालयहरु सहभागी थिए । विद्यालय प्राङ्गढमा सम्पन्न कार्यक्रममा मेट्रो प्याब्सनका अध्यक्ष मिनराज बस्ताकोटी प्रमुख अतिथिको रुपमा रहनुभएको थियो । कार्यक्रम स्कुलकी प्राचार्य ईन्दिरा पन्त कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो । विजेताहरुलाई कार्यक्रमकी सभापति कार्की र प्रमुख अतिथि बस्ताकोटीलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । वार्षिकोत्सव कार्यक्रम अन्तर्गत भोलि (सोमबार) विज्ञान प्रदर्शनी हुनेछ ।