– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन मंसिर ५ –
नेपाल प्रिमियर लिग (एनपिएल) को प्रतिस्पर्धि टिम चितवन राइनोजले आफ्नो बन्द प्रशिक्षण सुरु गरेको छ ।
चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना खेल मैदानमा आजबाट बन्द प्रशिक्षण सुरु गरिएको हो ।
चितवन राइनोजमा मार्की प्लेयरका रुपमा कुशल मल्ल रहेका छन् । त्यसैगरी राष्ट्रिय टिमका शरद भेस्वाकरले पनि चितवन राइनोजबाटै खेल्दै छन् । अहिलेसम्म ४ जना विदेशी खेलाडी चितवन राइनोजले ल्याउने बताइसकेको छ ।
नेपाल प्रिमियर लिगमा ८ टिमले सहभागिता जनाउँदै छन् । चितवन राइनोजलाई चितवन मेडिकल कलेजले बिड गरेको छ ।
चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले चितवन राइनोजमा स्वदेशी र विदेशी गरेर निकै जुझारु र अनुभवि खेलाडी रहेको बताउँदै आफूहरु जसरी पनि फाइनलमा पुग्ने गरी तयारी गरिरहेको बताए ।
मार्की प्लेयर कुशल मल्लले विदेशी खेलाडीको सर्पाेट र स्वदेशी खेलाडीको प्रयासले चितवन राइनोजले मैदानमा राम्रो प्रदर्शन गर्ने विश्वास गरे ।
चितवन मेडिकल कलेज (सिएमसी)का प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेले चितवनलाई मेडिकलसँगै क्रिकेटको पनि हब बनाउन आफूहरुले लगानी गरेको बताए ।
अनुभवि खेलाडी शरद भेस्वाकरले ग्राउण्डको बीचमा गएर खेल्न पाइरहँदा अभ्यास पनि राम्रो भइरहेको बताए ।
नेपाल क्रिकेट संघ चितवनका अध्यक्ष सुदिप पियाले चितवन मेडिकल कलेजले चितवनको क्रिकेटमा लगानी गर्दा यहाँको क्रिकेटको विकास अझै हुने कुरामा आफू विश्वस्त रहेको बताए ।