चितवन, ३० कात्तिक
नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा इङ्गल्यान्डका चर्चित क्रिकेटर रवि बोपराले चितवन राइनोजबाट खेल्ने भएका छन् ।
एनपीएलका लागि क्लबले बोपरालाई टोलीमा अनुबन्ध गरेको चितवन राइनोजले जनाएको छ । ३९ वर्षीय बोपरा आफ्नो समयका प्रभावशाली ब्याटिङ अलराउन्डर हुन् ।
बोपराले इङ्गल्यान्डका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी-२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलिसकेका छन्। उनले १३ टेस्टको १९ पालीमा कुल पाँच सय ७५ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले तीन शतक पनि प्रहार गरेका छन् ।
टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय ४३ रन हो। उनले एक सय २० एकदिवसीय अन्तर्राष्ट्रियमा दुई हजार ६ सय ९५ रन बनाएका छन् । एकदिवसीय अन्तर्राष्ट्रियमा उनले एक शतक र १४ अर्धशतक प्रहार गरेका छन् ।