काठमाडौं, असोज ६-
भारतको एकजना नेपाली युवतीको हत्या भएको छ । बेंगलुरुमा २९ वर्षीय नेपाली युवती महालक्ष्मी दासको विभत्स हत्या भएको हो ।
हिजो (शनिबार) बेंगलुरुको व्यालिकभल क्षेत्रस्थित फ्ल्याटको फ्रीजमा महालक्ष्मीको हत्यापछि ३० टुक्रा पारेको अवस्थामा शव फ्रीजभित्र भेटिएको छ। प्रहरीका अनुसार उनको हत्या सेप्टेम्बर १२ मा भएको हो ।
द इकोनोमिक टाइम्सका अनुसार फ्ल्याटबाट दुर्गन्ध फैलिन थालेपछि घरधनीले शनिबार दिउँसो प्रहरीलाई खबर गरेका थिए । शनिबार दिउँसो महालक्ष्मीको घरधनीले परिवारलाई पनि झिकाएका थिए । परिवार भने अन्तै बस्दै आएका थिए।
घरधनीको फोनपछि महालक्ष्मीकी आमा र बहिनी पुगेका थिए । उनीहरू पुग्दा महालक्ष्मीको फ्ल्याट अगाडिको ढोका बन्द थियो । ढोका फोडेर पस्दा १६५ लिटरको फ्रीजबाट दुर्गन्धसँगै किरा पनि निस्किएको भेटिएको र पछि प्रहरीले महिलाका शवका टुक्रा उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाएको थियो ।
प्रहरीका अनुसार बेंगलुरुकै एकवटा सपिङ मलमा काम गर्दै आएकी थिइन् । महालक्ष्मी डिभोर्सी हुन् । उनका पति छोराछोरीसँग भारतमै बस्छन् ।