काठमाडौं, साउन २७-
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो हार भएको स्वीकार गरेकी छन् । यद्यपि, आन्दोलनमा विदेशी शक्तिको हात रहेको आरोप लगाएकी छन् । आफ्नो पार्टी अवामी लिगका समर्थकहरुलाई पठाएको सन्देशलाई उदृत गर्दै भारतको द प्रिन्टले लेखेको छ, ‘मैले सेन्ट मार्टिन र बे अफ बंगाल अमेरिकालाई दिएको भए म सत्तामै रहन सक्थें ।’
बंगलादेश र भारतका सञ्चारमाध्यमहरुले यसलाई देश छाडेपछि हसिनाको पहिलो प्रतिक्रिया भनेका छन् । अमेरिकासँग लामो समयदेखि हसिनाको सम्बन्ध तनावपूर्ण थियो । उनले गएको जनवरीमा एक जना गोरा व्यक्तिले एयरबेसको बदलामा सहजै शक्ति दिने बताएको अभिव्यक्ति दिएकी थिइन् ।
द प्रिन्टका प्रतिनिधिले हेरेको भनिएको वक्तव्यमा हसिनाले अन्तरिम सरकारलाई विदेशी शक्तिबाट प्रयोग नहुनसमेत चेतावनी दिइएको समाचारमा उल्लेख छ ।
२४ साउनमा अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति मुहम्मद शाहबुद्दिनले युनुसको नेतृत्वमा १७ सदस्यीय सल्लाहकार परिषद् गठन गरेका थिए ।