ढाका, २५ साउन
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाका छोरा साजिव वाजिद जोयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद भनेका छन् । यति कम समयमा जानकारी दिएर पनि आफ्नो आमाको ज्यान बचाएको भन्दै उनले मोदीलाई कृतज्ञता व्यक्त गरेका हुन् ।
आफ्नी आमा अझै केही समय भारतमै बस्ने पनि उनले बताए । बंगलादेशमा हिजो राति मात्रै बनेको अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेलगत्तै हसिना बंगलादेश फर्किने उनले बताएका छन् ।
टाइम्स अफ इन्डियासँगको कुराकानीका क्रमम उनले भने, ‘म मेरो पार्टी र कार्यकर्ताहरूलाई बचाउन जे पनि गर्नेछु । यसका लागि राजनीतिमा आउनु परेपनि म पछि हट्ने छैन ।’
अवामी लिगले आगाी चुनावमा भाग लिनेमा उनी विश्वस्त देखिए । आफूहरूसँग बंगलादेशका जनताको सबैभन्दा ठूलो समर्थन रहेको र चुनावमा पार्टीले जित्ने सम्भावना भएको पनि उनले बताएका छन् ।