काभ्रे, १ साउन
काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–९ मा बलात्कार आरोपमा १८ वर्षीय किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनापति गाउँपालिका–५ घर भएका पासाङ तामाङ रहेका छन् ।
मानसिक सन्तुलन गुमाएकी र बोल्न नसक्ने पीडितलाई तामाङले भण्डारीबेशी नजिकै पर्ने मूल सडकसँगैको झाडीमा जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
बलात्कार गरेर भाग्दै गरेको अवस्थामा तामाङलाई पक्राउ गरिएको हो । बाटोमा भेटेपछि अपरिचित महिलालाई बलात्कार गरेको उनले प्रहरीसँग बताएका छन् ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।







