चितवन, ३१ साउन
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा भोलि साउन १ गतेदेखि स्वास्थ्य बीमा मार्फत् उपचार हुने भएको छ । स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच गत जेठ १८ गते नै सम्झौता भई अहिले कार्यान्वयनमा आउन लागेको हो ।
बोर्डले साउन १ गतेबाट लागु हुनेगरी सिएमसीलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरेको थियो । चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले बिरामीहरुको चाहना अनुसार आफूहरुले पुनः स्वास्थ्य बीमा कार्यक्रम ल्याएको बताउनुभयो ।
उहाँले इमर्जेन्सीमा आउने स्वास्थ्य बीमा गरेका बिरामीलाई रिफर आवश्यक नपर्ने भन्दै अन्य बिरामीले पहिलो विन्दु तोकिएको अस्पतालबाट रिफर ल्याउनु पर्ने जानकारी दिनुभयो । उहाँले कान्तिपुर हेल्थसँग भन्नुभयो “स्वास्थ्य बीमा गरेका बिरामीले पहिलो विन्दु तोकिएको स्वास्थ्य संस्था तथा अस्पतालबाट रिफर ल्याएपछि यहाँ बीमा मार्फत् उपचार हुन्छ, तर इमर्जेन्सी (आकस्मिक) मा आउने बिरामीलाई रिफर आवाश्यक पर्दैन ।”
स्वास्थ्य बीमा मार्फत् उपचार गर्दा बोर्डले तोके अनुसार सरकारी अस्पतालमा १० प्रतिशत र निजीमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । सोही अनुसार सिएमसीमा उपचार गर्दा पनि उपचार खर्चको २० प्रतिशत भने बिरामीले व्यहोर्नु पर्ने हुन्छ । उहाँले भन्नुभयो “स्वास्थ्य बीमा बोर्डले तोकेको मापदण्डभित्र रहेर हामीले बिरामीलाई सेवा दिन्छौं । ”
स्वास्थ्य बीमा नहुँदा धेरै बिरामीले दुःख पाएको भन्दै उहाँले कतिपय बिरामीहरु बीमा कै कारण विगतमा उपचार गर्न काठमाण्डौं जानु पर्ने बाध्यता परेको बताउनुभयो । देवकोटाले कान्तिपुर हेल्थलाई भन्नुभयो “सुपर स्पेशलिष्ट सेवा सिएमसीमा भएर पनि बीमाका बिरामीहरु राजधानी काठमाण्डौं जान बाध्य हुनु पर्ने अवस्था आयो, त्यसैले हामीले पुनः बीमा मार्फत् उपचार सेवा गरेका हौं ।”