मस्को, असार ७
युक्रेनले प्रक्षेपण गरेका ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको रुसी अधिकारीले दाबी गरेका छन् । यस घटनामा परेर एक व्यक्तिको मृत्यु भएको पनि उनीहरूले शुक्रवार जानकारी दिएका छन् ।
रुसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ब्ल्याक सी क्षेत्रमा ७० ड्रोन, क्रास्नोडार क्षेत्रमा ४३ ड्रोन र भोल्गोग्राडमा एक ड्रोनलाई रोकेर नष्ट गरेको रक्षा मन्त्रालयले विज्ञप्तिमा जनाएको छ ।
साथै क्रास्नोडारमा, युज्नी रेल स्टेशन नजिकैको सैन्य सुविधामा ड्रोन प्रहार गर्दा पानी तातो पार्ने स्टेशनका एक कर्मचारीको मृत्यु भएको क्रास्नोडार क्षेत्रीय गभर्नर वेन्यामिन कोन्ड्रातयेभले टेलिग्राममा बताए ।
दुई वर्षभन्दा बढी समयदेखि रुसको आक्रमणसँग आक्रान्त भएको युक्रेनले हालैका महिनामा ऊर्जास्थलहरूलाई लक्षित गर्दै रुसी क्षेत्रमा प्रत्याक्रमण बढाएको छ ।
ऊर्जा पूर्वाधारमा लक्षित रुसी मिसाइल र ड्रोन आक्रमणले युक्रेनको बिजुली उत्पादन क्षमतालाई कमजोर बनाएको छ । यसले गर्दा उ युरोपेली सङ्घबाट बिजुली आयात गर्न बाध्य भएको छ ।