नयाँ दिल्ली । भारतमा आज लोकसभा चुनावको चौथो चरणको मतदान सुरु भएको छ । दश राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको हो ।
चौथो चरणमा आन्ध्र प्रदेशका १७५ वटा विधानसभा सिट र उडिसाका २८ विधानसभा सिटका लागि पनि मतदान भइरहेको छ ।
समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्वक्रिकेटर युसुफ पठान, अभिनेता शत्रुघ्न सिन्हा, अघिल्लो लोकसभामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई कडा प्रश्न सोध्ने महुवा मोइत्रालगायत १ हजार ७१७ उमेदवार आज चुनावी मैदानमा छन् ।
यस चरणमा १९ लाखभन्दा बढी मतदान केन्द्र छन् । १७ करोड ७० लाख मतदाता मतदानमा सामेल हुनेछन् । यसमा ८ करोड ९७ लाख पुरुष र ८ करोड ७३ लाख महिला मतदाता रहेका छन् ।
आज आन्ध्र प्रदेश, विहार, झारखण्ड, मध्यप्रदेश, महाराष्ट्र, उडिसा, तेलगंना, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू काश्मीरका विभिन्न सिटमा मतदान भइरहेको छ । बीबीसी