काठमाडौं, वैशाख २० –
नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकको सेवामा समस्या देखिएको छ ।
ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा दिउँसो करिब ४ बजेदेखि समस्या आएको हो । इन्टरनेट सेवा प्रदायकहरुले सेवामा समस्या देखिएको स्वीकार गरेपनि के भएको भन्नेबारे थप जानकारी गराएका छैनन् ।
कतिपय सेवाग्राहीले इन्टरनेट चल्न नसकेको बताएका छन् भने कतिपयले चाहिँ चलेको भएपनि सुस्त गति रहेको बताएका छन् । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएका थिए ।
उनीहरुले सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका छन् । यसअघि इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको थियो ।