चितवन, ९ बैशाख
मकवानपुरको एक जंगलमा मानव कंकाल फेला परेको छ । शनिवार दिउँसो मकवानपुरगढी गाउँपालिका वडा- ८ को बुढीचौरस्थित आरूखोला जंगलमा कंकाल फेला परेको हो ।
घाँस काट्न जंगल गएकी महिलाले कंकाल देखेपछि स्थानीय जनप्रतिनिधिलाई खबर गरेकी थिइन्। प्रतिनिधिले खबर गरेपछि घटनास्थलमा प्रहरी पुगेको हो ।
कपडा र शारीरिक बनावटको आधारमा पुरूषको कंकाल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जानकारी दिए । उनका अनुसार प्रहरीले घटनास्थलको मुचुल्कालगायत कानुनी प्रक्रिया पुरा गरी अहिले कंकाललाई हेटौडा अस्पतालमा राखिएको छ ।
प्रहरीले उनी को हुन भनेर पत्ता लगाउने काम गरिरहेको एसपी रिजालले जानकारी दिए ।