काठमाडौँ, ७ वैशाख
एसीसी प्रिमियर कप टी-२० प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपालले यूएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ । ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११९ रन मात्रै बनाउन सक्यो । यूएईका बलरसामु नेपाली ब्याटरहरू चल्न सकेका छैनन् ।
नेपालका लागि सन्दीप जोराले ५० रन बनाउनुबाहेक अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन् । ४० बल खेलेका सन्दीप ५० रन बनाएर आउट भए । सन्दीपबाहेक गुल्सन झा २० र करण केसी १७ रन बनाएर आउट भए ।
दीपेन्द्रसिंह ऐरी आठ बलमा पाँच रन र कप्तान रोहित पौडेल १८ बलमा ५ रन बनाएर आउट भए । आशिफ शेख ८, कुशल मल्ल ३ र सोमपाल कामी २ रन बनाएर आउट भए ।
यूएईका तीव्र गतिका बलर जुनैद सिद्दिकको पहिलो ओभरको पहिलो बलमै कुशल भुर्तेल एज लागेर विकेटकिपर हैदरबाट समातिन पुगेका थिए ।
नेपाली टोली जारी प्रिमियर कपमा अपराजित टोली हो । नेपालले समूह चरणका चार खेलमा चार जीत निकालेको थियो । यूएई भने समूह चरणमा ओमानसँग हारेको थियो ।
आजै हुने दोस्रो सेमिफाइनलमा समूह बी को विजेता ओमानले समूह ए को उपविजेता हङकङसँग खेल्नेछ। सो खेल सवा ४ बजे शुरू हुनेछ ।
प्रिमियर कपको विजेताले टी २० एसिया कपमा स्थान बनाउनेछ । एसिया कपमा पुग्ने टोलीले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछन् ।