काठमाडौँ, ४ वैशाख
कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग हो । यसले पाचन प्रक्रियामा मद्दत गर्छ । त्यस्तै रगतलाई चाहिने खास किसिमको प्रोटिन उत्पादन गर्छ । कलेजोका अन्य महत्वपूर्ण कार्य रहेका छन् । यसकारण कलेजो सधैँ स्वस्थ रहन आवश्यक छ ।
त्यसो भए कलेजोलाई कसरी स्वस्थ राख्ने त ? केही उपाय:-
कलेजोलाई स्वस्थ राख्ने उपाय जान्नका लागि के कारण कलेजोमा रोग लाग्छ भन्ने कुरा बुझ्न जरुरी छ । कलेजोमा भाइरसका कारण रोग लाग्न सक्छ । अति बोसो, मदिरा, कुनै औषधिको साइड इफेक्ट लगायतका कारण कलेजोमा रोग लाग्न सक्छ ।
स्वस्थ पानी पिउने
हेपाटाइटिस ए र हेपाटाइटिस इ को प्रमुख स्रोत पानी हो । त्यसैले यी रोगबाट बच्न सधैँ स्वस्थ पानी पिउन जरुरी छ । हेपाटाइटिस इ भाइरस गर्भवती महिलामा संक्रमण भए ज्यानको जोखिम पनि हुनसक्छ । यसबाट बच्न सधैँ स्वस्थ तथा स्वच्छ पानी वा खानपानको जरुरी हुन्छ । हेपाटाइटिस ए का लागि खोपको व्यवस्था पनि छ ।
सुरक्षित रगत तथा सुईको प्रयोग
यदि रगत लिनु परेमा स्वस्थ रगत मात्र लिनुपर्छ । हेपाटाइटिस बी तथा सी रगतको माध्यमबाट सर्ने भएकाले यसमा ध्यान पुर्याउनुपर्छ । त्यस्तै सुईको प्रयोग गर्दा अरूले प्रयोग नगरेको सुई मात्र प्रयोग गर्नुपर्छ । अरूले प्रयोग गरेका व्यक्तिगत सामानहरू जस्तैस रुमाल, टावेल, दाँत माझ्ने ब्रस, दाह्री खौरिने औजारलगायत प्रयोग गर्नु हुँदैन ।
सुरक्षित यौनसम्पर्क
हेपाटाइटिसका भाइरस एचआइभी जस्तै यौनसम्बन्धबाट पनि सर्ने हुन्छ । त्यसैले यौनसम्पर्क गर्दा सुरक्षाका उपाय अपनाउन जरुरी हुन्छ ।
मद्यपान नगर्ने
कलेजो बिग्रनुको अर्को कारण भनेको मदिरा सेवन हो । मदिराजन्य तत्वका कारण हेपाटाइटिस देखि सिरोसिससम्म हुनसक्छ । यसले कलेजोमा क्यान्सर पनि निम्तिन सक्छ । मदिराको यति मात्रा पिउँदा कुनै असर गर्दैन भन्ने हालसम्म पुष्टि भएको छैन । त्यसैले एकपटक त हो वा यति त हो भनेर थोरै पनि पिउन कलेजोका लागि घातक हुनसक्छ ।
यद्यपि ३० एमएल (अर्थात् १२० एमएल वाइन र ३०० एमएल बियर बराबर) रक्सीलाई एक युनिट मान्दा पुरुषले हरेक साता १४ युनिट र महिलाले ७ युनिटसम्म पिउँदा कम जोखिम भने हुने बताइन्छ । तर यसलाई जोखिम नै नहुने रूपमा भने बुझ्नु हुँदैन । यसमा मोटोपन, धूम्रपान, वंशाणुगत लगायतका कारणले पनि भूमिका खेलेका हुन्छन् ।
कलेजोमा बोसो जम्न नदिने
मोटोपनका कारण पनि कलेजोमा जोखिम हुन्छ । कलेजोमा बोसो जम्दा यसले सहज रूपमा कार्य गर्न सक्दैन । यसबाट बच्न सधैँ सन्तुलित भोजनको आवश्यकता पर्छ । खानेकुरामा पूरा अन्न, पूरा दाल (बोक्रा नफालेको), पूरा फलफूल, सलाद, लगायत स्वस्थकर खानेकुरा खानुपर्छ । फाइबरयुक्त खानेकुरा प्रशस्त मात्रामा खानुपर्छ । प्रशोधित खानेकुरा खानु हुँदैन ।
कलेजोलाई स्वस्थ राख्न नियमित व्यायामको पनि आवश्यकता छ । हिँडडुल गर्ने, दौडने, साइक्लिङ गर्ने, कुनै खेल खेल्ने आदि गर्दा शारीरिक व्यायाम हुन्छ ।
यसैगरी हेपाटाइटिस बीबाट बच्न तोकिएको समयमा खोप लगाउनुपर्छ ।
(टाइम्स अफ इन्डियाबाट)