माधव सापकोटा
चैत २९, चितवन
चितवनको भरतपुर–४, धर्मचोक, लंकुस्थित दाक्षिणात्य कलात्मक शैलीमा नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरको निर्माण एवम् गत फागुन २ देखि १० गतेसम्म सम्पन्न भएको श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को आज आय- व्यय सार्वजनिक गरिएको छ।
नव मन्दिर निर्माण तथा प्राणप्रतिष्ठा सम्पादन मूल समितिद्वारा आज मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा मन्दिर निर्माणका लागि पाँच करोड बाह्र लाख बाउन्न हजार आठ सय त्रिसठ्ठी रुपैयाँ खर्च भएको तथा प्राणप्रतिष्ठा महोत्सवमा एक करोड तेइस लाख तीस हजार पाँच सय तेत्तीस रुपैयाँ आम्दानी तथा त्रियासी लाख बयानब्बे हजार दुई सय सत्सठ्ठी रुपैयाँ खर्च भएको र खर्च गरी बाँकी रहेको उन्चालिस लाख एकचालिस हजार रुपैयाँ ग्लोबल आइ एम ई बैंकमा रहेको अक्षयकोष खातामा जम्मा गरिएको निर्माण समितिका कोषाध्यक्ष रोमाकान्त कंडेलले जानकारी दिनुभयो।
कार्यक्रममा मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्य, भरतपुर -४ का कार्यवाहक वडाध्यक्ष ठाकुरप्रसाद सापकोटा , मन्दिर संचालक समितिका उपाध्यक्ष एवम् प्राणप्रतिष्ठा सम्पादन मूल समितिका संयोजक कमलनयन कंडेल , निर्माण समितिका अध्यक्ष गोपालप्रसाद कंडेल लगायतको उपस्थिति रहेको थियो।