चितवन, चैत २२ –
भरतपुर महानगरपालिका ११ मालपोत चोकमा रहेको स्टार्स मन्टेश्वरीले साना नानीबाबुहरुलाई दीक्षित गराउने भएको छ ।
यही चैत २४ गते भरतपुर ११ को धावन पार्टी प्यालेसमा एक भव्य कार्यक्रमकाबीच मन्टेश्वरीले १२ औं दीक्षान्त समारोह गर्न लागेको हो । दीक्षान्त कार्यक्रममा नायक राजेश हमाल र गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको समेत उपस्थिति रहने मन्टेश्वरीले जनाएको छ । समारोहमा उनीहरुको प्रस्तुती रहने छ । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी एवम् उद्घोषिका महिमा पण्डी भट्टराईले गर्नेछिन् ।
राजेश हमालको हातबाट दीक्षित हुन पाउँदा बच्चाहरु खुसी हुने हुँदा उनीहरुको खुसीको लागि भव्य तरिकाले कार्यक्रम गर्न लागिएको राना बताउँछन् ।
मन्टेश्वरीका प्रबन्ध निर्देशक गणेश रानाका अनुसार कार्यक्रममा विद्यार्थीहरुले समेत विभिन्न सांस्कृतिक प्रस्तुती दिनेछन् । कार्यक्रममा विद्यार्थी, अभिभावक, मन्टेश्वरीका प्रतिनिधि र शुभचिन्तकहरुलाई सहभागि गराइने छ ।
उक्त दिन मन्टेश्वरीमा अध्ययनरत नर्सरीका ६३ जना, एलकेजीका ६० जना, युकेजीका २५ जनालाई दीक्षित गराई क्रमशः माथिल्लो कक्षामा लगिने छ । साथै १९ जना नानीबाबुहरु दीक्षित भई मन्टेश्वरीबाट विदाई भएर अन्य विद्यालयमा जानेछन् ।
साथै कार्यक्रमका दिन बिदाई हुने १९ जना नानीबाबुलाई जीपमा र राजेश हमाललाई घोडाको बग्गीमा राखेर पञ्चे बाजासहित भरतपुर ११ का केही टोलहरुमा परिक्रमा गराइने छ ।
स्टार्स मन्टेश्वरी नयाँ नयाँ टे«ण्ड ल्याउने मन्टेश्वरीभित्र पर्दछ । साना नानीबाबुहरुलाई भव्य समारोहका बीच दीक्षित गराउनु पनि त्यसै मध्येको एक हो । मन्टेश्वरीका प्रबन्ध निर्देशक रानाले मन्टेश्वरीले नयाँनयाँ ट्रेण्ड ल्याइरहने र त्यसलाई अरुले पनि पछ्याउँदै जाने गरेको बताए ।
मन्टेश्वरीले बालबालिकालाई अतिरिक्त क्रियाकलापहरु सिकाउँदै आइरहेको छ । जसअन्तर्गत गायन, नृत्य र तेक्वान्दोलाई बढी प्राथमिकतामा राखेको छ ।
मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरु पढाइ लेखाइ साथसाथै अतिरिक्त क्रियाकलापहरुमा अब्बल ठहरिँदै आइरहेका छन् । मन्टेश्वरीबाट विदाई भएर चितवनसहित काठमाडौं र अन्य क्षेत्रका विद्यालयमा पुग्दा ती विद्यार्थीहरु हरेक क्षेत्रमा अब्बल देखिएको राना बताउँछन् ।
जहाँबाट तपाईंका नानीबाबुहरुको भविष्य निर्माणको पाइला सुरु हुन्छ भन्ने नाराका साथ स्टार्स मन्टेश्वरी वि.सं. २०६७ सालमा स्थापना भएको थियो ।