भरतपुर, चैत १७
भरतपुर महानगरपालिका-४ स्थित राममन्दिर आधारभुत स्वास्थ केन्द्रमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भरतपुर-४ वार्ड कार्यलयको सहकार्य तथा राममन्दिर आधारभुत स्वास्थ केन्द्रको समन्वय, Quest लगाएत विभिन्न फर्माटिकल्स कम्पनिहरुको प्राविधिक सहयोग र गोरखनाथ फाउन्डेसनको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
शिविरमा उच्च रक्तचाप, मधुमेह, छाला, स्त्री, मनोरोग सहित विभिन्न रोगका करिब ४ सय ५० जनाभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको फाउन्डेसनका उपाध्यक्ष सुजन ढकालले जानकारी दिनुभयो । वहाँका अनुसार शिविरमा CRL lab सङ्गको सहकार्यमा सुगर, थाइराइडको ल्याब परिक्षण तथा ब्लड ग्रुपिङ निशुल्क रुपमा गरिएको थियो।
स्वास्थ्य शिविरका सहभागीलाई डा. दया पन्त, डा. एकता बराल, डा. आसुतोष कंडेल र डा. निरज पौडेलले प्राकृतिक उपचार पद्धति, उपचार विधि, शारीरिक व्यायाम, स्वच्छ जीवनशैलीका लागि अपनाउनुपर्ने पूर्व सावधानी र खानपानलगायत विषयमा सचेतनामुलक जानकारी दिएका थिए ।
वंशाणुगत र घटना विशेषका कारणबाहेक मानव शरीरमा लाग्ने अधिकांश रोगको स्रोत खानपान र जीवनशैली भएको डा. बरालले दाबी गर्नुभयो । खानपिनमा अनुशासित हुन सके र नियमित व्यायाम गर्न सकिए धेरै रोगबाट बच्न सकिने डा. बरालको भनाइ थियो ।
त्यस्तै स्त्रीरोग विशेषज्ञ डा. दया पन्तले महिलाहरुमा शिक्षाको कमिले गर्दा विभिन्न किसिमको सामान्य मानिएका रोगले पनि दीर्घकालीन असर गरि पाठेघरको क्यान्सर समेत भएपछी अस्पताल आउने गरेको डा. पन्तले अनुभव बताउनु भयो । डा. पन्तले थप्नु भयो” महिलाहरुले रोग लुकाएर बस्नु, आफ्नो समस्याको बिषयमा डाक्टर सङ्ग परामर्श लिन लाज मान्नु नै मुख्य समस्या हो। यस्ता शिविरहरुले समाजमा शिक्षा र स्वास्थको जनचेतना फैलन्छ।”
शिविरमा मनोरोगको बिषयमा डा. कंडेलले आजको समाजको मनोदशा र मानव समाजको सम्बन्ध र यसका मानसिक असरहरुको बारेमा परामर्श गर्नुभएको थियो। त्यस्तै डा. निरज पौडेलले स्वास्थका क्षेत्रमा यस्ता संस्था हरुलाइ सहयोग गर्न स्वास्थ क्षेत्र तयार हुनुपर्ने कुरा समेत जोड्नुभयो ।
शिविर फाउन्डेसनको अध्यक्ष सन्देश अर्यालको अध्यक्षता, भरतपुर -४ वार्ड कार्यलयको कार्यबाहक अध्यक्ष ठाकुर प्रसाद सापकोटाको प्रमुख आतिथ्यता साथै भीषण लामिछानेको संयोजनमा सम्पन्न भएको थियो।
तस्विर : विनय आचार्य