भरतपुर, १६ चैत
पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं-७, वीरेन्द्रनगरमा मोटरसाइकल, ट्रयाक्टर र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलपछाडि सवार महोत्तरीको शम्शी गाउँपालिका-४ बस्ने २१ वर्षीय रूपेश पण्डित रहेका छन् ।
पण्डितको उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । सोहि ठाउँ बस्ने मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
भण्डाराबाट भरतपुरतर्फ जाँदै गरेको प्रदेश २-०२-००५ प १३९९ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ३ त २८७२ नम्बरको ट्रयाक्टरमा ठोक्किई मोटरसाइकल अनियन्त्रित भई भरतपुरतर्फ जाँदै गरेको ना ६ ख १५७७ नम्बरको ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय दीपेन्द्र पण्डितको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।