चैत ९, चितवन ।
समयमै स्वास्थ्य परिक्षण गरे क्यान्सर रोग निको पार्न सकिने विपि कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा विजयराज न्यौपानेले बताउनुभएको छ ।
आदर्श नारी विकास केन्द्रले आयोजना गरेको महिलाहरुका लागि निशुल्क स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका डाः न्यौपानेले धेरै विरामीमा चेतनाको कमी संगै स्वास्थ्यलाई उच्च प्राथमिकतामा नराख्दा अन्तिम अवस्थामा मात्र रोगपत्ता लाग्ने र अल्पायुमा मर्नुपर्ने अवस्था भएको स्पष्ट पार्नुभयो ।
क्यान्सर शब्द संग नै डराएर चेकजाँचमै आनाकानी गर्दा अन्तिम अवस्थामा मात्र रोग पत्ता लाग्ने गरेको छ । कार्यक्रममा बोल्दै अस्पतालका विभागिय प्रमुख अयोध्या पाठकले विश्वका २ करोड मानिसलाई नयाँ खालको क्यान्सर देखिएको तथ्याकं रहेको बताउनुभयो । विश्व स्वास्थय संगठनले सन् २०२२ मा सार्वजनिक गरेको तथ्याकंमा विश्वका ९७ लाख मानिसको क्यान्सरकै कारण मृत्यु भएको उल्लेख छ ।
नेपालमा पहिलो नम्बरमा फोक्सोको क्यान्सर देखिने गरेको छ । यस्तै महिलाहरुलाई मात्र हुने क्यान्सर मध्ये पहिलो नम्बरमा स्तन क्यान्सर , दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर हुने गरेको पाठकले जानकारी दिनुभयो । क्यान्सर रोग रोकथामका लागि सामाजिक अभियन्ताको महत्वपुर्ण भुमिका हुने उहाँको भनाई थियो ।
संस्थाका संस्थापक एवं निवर्तमान अध्यक्ष मीना खरेलले आम महिलाले आफ्नो स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि समय समयमा स्वास्थय परिक्षण गर्न सुझाव दिनुभयो । समयमा रोग पत्ता नलाग्दा यसैका कारण आफ्नै परिवारका सदस्य गुमाउनुपरेको तितो यथार्थ प्रस्तुत गर्दै उहाँले स्वास्थ्यमा हेलचक्राई नगर्न आग्रह गर्नुभयो । “मैले जस्तो पीडा अरुले भोग्नु नपरोस् र सबै महिलाहरुलाई क्यान्सर सम्बन्धी सचेतना होस भनेर यस कार्यको शुरुआत गरेका हौ उहाँले भन्नुभयो ।” समय समयमा स्वास्थ्य परिक्षण गर्दा आफनो स्वास्थ्य अवस्था समयमै थाहा हुन्छ , खरेलले भन्नुभयो ‐उपचारमा सहजता संगै आफु ढुक्क हुन यस्ता खाले अभियानले महत्वपुर्ण भुमिका खेल्छ ।”
संस्थाका अध्यक्ष उषा खरेल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संस्थापक सदस्य गंगा श्रेष्ठ, सल्लाहकार विदुर केसी, अस्पतालका प्रिभेन्सन विभागका डाक्टर कृष्ण सुवेदी, संस्थाका सदस्य भीमा तिवारी गौतम, आदर्श नारी क्लीनिकका व्यवस्थापक सुरेन्द्र धिताल, द्धन्द्धप्रभावित महिला जिल्ला सञ्जाल चितवनका अध्यक्ष पार्वती खड्का संस्थाका सदस्य एवं वडा नम्बर ७ का वडा सदस्य अमृता गौतम लगायत संस्थाका आजीवन, साधारण सदस्य, पदाधिकारी र शुभेच्छुकको सहभागिता रहेको थियो ।
यसैबीच
क्यान्सरबारे जानकारी राखौ, सर्तक होऔं, क्यान्सरलाई परास्त गरौं भन्ने नाराका साथ गरिएको उक्त कार्यक्रममा १०० भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रममा प्राविधिक सहयोग विपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गरेको हो । यस कार्यक्रमलाई संस्थाले प्रत्येक बर्ष नियमित गर्ने योजना बनाएको छ ।