चितवन, फागुन २२ –
नारायणगढस्थित नारायणी नदी किनारमा चैत ९ गतेबाट आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव हुने भएको छ ।
आदिवासी जनजाति महासंघको आयोजनामा आदिवासी जनजातिको भाषा, संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले ‘प्रथम आदिवासी जनजाति सांस्कृतिक तथा व्यापार महोत्सव’ चैत ९ गतेबाट १८ गतेसम्म हुन लागेको हो ।
महोत्सव हुने बारे आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।
आदिवासी जनजाति महासंघ चितवनका अध्यक्ष एवम् मेलाका संयोजक महेन्द्र दुराका अनुसार महोत्सव ३०० स्टल रहने छन् । दैनिक जसो १७ वटा जातीय सांस्कृतिक प्रदर्शनी हुने उनले जानकारी दिए । महोत्सवमा ८० लाख रुपैयाँ खर्च र करिब एक करोड रुपैयाँ आम्दानी हुने लक्ष्य राखिएको रानाले जानकारी दिए ।
महासंघ चितवनले भरतपुर महानगरपालिका वडा नम्बर ११ नौरंगेमा २५ धुर जग्गा खरिद गरी आफ्नै भवन निर्माण गरिरहेको छ । महोत्सवको आम्दानीले भवनलाई पूर्णता दिन सहयोग पुग्ने आयोजकको विश्वास छ ।
महासंघका अनुसार चितवनमा ४० प्रकारका ४६ प्रतिशत आदिवासी जनजाति समुदायको बसोबास रहेको छ । तीन लाख ३२ हजार भन्दाबढी आदिवासीको बसोबास रहेको छ । चितवनमा थारू, दराई, कुमाल, तामाङ, बोटे, चेपाङ, मगर, गुरूङ, थकाली, नेवार, दुरा, राई, लिम्बू, भुजेल, ह्योल्मो, बराम लगायतका जनजाति छन् ।
दूराका अनुसार आदिवासी जनजातिको भाषा, संस्कृति संरक्षणमा सहयोग पु¥याउनुका साथै भरतपुर भ्रमण वर्षको प्रवद्र्धन महोत्सवले गर्ने छ । साथै महोत्सवबाट आदिवासी जनजातिको संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्नका लागि पनि सहयोग पुग्ने छ ।
समग्र जिल्लाकै आर्थिक, सामाजिक, पर्यटन, कृषि, घरेलु उद्योग, शिक्षा, स्वास्थ्यलगायत विभिन्न क्षेत्रको विकासमा सकारात्मक प्रभाव पार्नको लागि पनि महोत्सवले मूख्य भूमिका खेल्ने विश्वास आयोजकको छ ।