चितवन, १२ फागुन
राप्ती नगरपालिकामा गरिएको तालाबन्दीप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
नगर सभापति तिलक बहादुर कार्कीद्वारा जारी विज्ञप्तिमा सर्व साधारणको सेवा सुविधामा असर पुग्ने गरि गरिएको तालाबन्दी कार्यलाई जनप्रतिनिधिहरुले फिर्ता गर्नुपर्ने जनाइएको छ ।
उक्त विज्ञप्तिमामा भनिएको छ, “वार्ताद्वारा समस्याको समाधान गर्न राप्ती नगर प्रमुख, उप-प्रमुख लगायत तालाबन्दी गर्ने जनप्रतिनिधिज्युहरुलाई रास्वपा राप्ती नगर समिति अनुरोध गर्दछौं ।”
बिहिबार राप्ती नगरपालिकाका जनप्रतिनिधिहरुले नगरप्रमुख शमशेर लामा, उपप्रमुख देवेन्द्र लामा र प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
कार्यपालिका बैठक र हिउँदे नगरसभाको माग गर्दै जनप्रतिनिधिहरुले कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।
नगर प्रमुखको कार्यशैलीप्रति असहमति जनाउँदै आएका काङ्ग्रेस ,एमालेसहितका ६२ जना जनप्रतिनिधिले सात दिनको अल्टिमेटम दिएका थिए । तर, प्रमुखले बैठक नबोलाई बेवास्ता गरेका कारण तालाबन्दी गर्न बाध्य भएको जनप्रतिनिधिहरुले बताएका छन् ।