माधव सापकोटा
फागुन ८, चितवन
चितवनको भरतपुर–४, धर्मचोक,लंकुमा फागुन २ देखि जारी श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव समापनतर्फ उन्मुख हुँदै गर्दा भक्तजनहरूको उपस्थितिमा वृद्धि हुँदै गइरहेको छ।
प्राण- प्रतिष्ठा कार्यक्रमअन्तर्गत आज भगवान्का विग्रहरूको जलाधिवास गरिएको छ भने भोलि बेलुका नेत्रोन्मीलन,प्राणप्रतिष्ठा र १० गते महापूर्णाहुति हुने मन्दिरका पीठाधीश स्वामी जगन्नाथाचार्यले जानकारी दिनुभयो।
महायज्ञमा अहिलेसम्म ७७ लाख ३ हजार ५ सय ५० रकम संकलन भएको मूल समितिका कोषाध्यक्ष रोमाकान्त कंडेलले बताउनुभयो।
महायज्ञमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायणका कार्यक्रमहरू चलिरहेका छन्।
रङ्ग मन्दिर वृन्दावनका गोवर्धन पीठाधीश्वर गोवर्धन रङ्गाचार्य स्वामीको प्रधान आचार्यत्व , पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्व तथा डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा जारी महायज्ञ फागुन १० गतेसम्म चल्ने छ।