माधव सापकोटा
फागुन २, चितवन
चितवनको भरतपुर–४, धर्मचोक, लंकुस्थित नव निर्मित लक्ष्मीवैकुण्ठनाथ मन्दिरमा श्रीलक्ष्मीवैकुण्ठनाथ नवमन्दिर प्राणप्रतिष्ठा महायज्ञ महामहोत्सव २०८० को शुभारम्भ भएको छ।महोत्सवको चार वेदको मंगलाचरणका साथ नेपाल सन्त समाजका केन्द्रीय अध्यक्ष ज्ञानानन्द सरस्वती, पीठाधीश स्वामी जगन्नाथाचार्य, प्रमुख वाचक डा. चक्रपाणि आचार्य लगायतका प्रमुख सन्त- महात्माहरूद्वारा संयुक्त दीपप्रज्वलन गरी उद्घाटन गरिएको हो।
मन्दिरका संस्थापक टिकाराम सापकोटा प्रमुख अतिथि रहनुभएको कार्यक्रम मूल समितिका संयोजक कमलनयन कंडेलको सभापतित्वमा सम्पन्न भएको थियो।
उद्घाटन हुनुअघि विभिन्न धार्मिक, सामाजिक, शैक्षिक संस्थाहरू, महिला समूह लगायतका संघ–संस्थाको पहिचान झल्कने वेशभूषा, ब्यानर,ॐकार झण्डासहितको शोभा–कलशयात्राले
धर्मचोक-अद्वैतचोक- धारापानीचोक- वैकुण्ठचोक परिक्रमा गर्दै मन्दिरमा आएर समापन भएको थियो।
महोत्सवमा दैनिक रूपमा पञ्चकुण्डीय विष्णुयाग, लक्ष्मीनारायण पुष्पयाग, चारवेद, रामायण, महाभारत, १८ पुराण आदि अष्टादश विद्या अनुष्ठान पाठ /पारायण हुने कार्यक्रम रहेको छ।
महोत्सव रंग मन्दिर वृन्दावनका पीठाधीश्वर गोवर्धन रंगाचार्य ‘बालक स्वामीको प्रधान आचार्यत्व, पीठाधीश स्वामी जगन्नाथाचार्यको प्रधान संरक्षकत्व एवम् डा. चक्रपाणि आचार्यको प्रमुख वाचकत्वमा सम्पन्न हुने आयोजक समितिले जनाएको छ।