चितवन, २१ माघ
एमाले धादिङ जिल्ला अधिवेशनमा नेता र कार्यकर्ताबीच कुटाकुट हुँदा एकजनाको हात भाँचिएको छ। हात भाँचिनेमा पार्टी कार्यकर्ता सन्तोष खनाल रहेका छन् ।
बागमती प्रदेश एमाले अध्यक्ष कैलाश ढुंगेलले एक विज्ञप्ति जारी गर्दै पार्टी भित्रको विवाद बढेर कुटाकुटमा परिणत भएको बताएका छन् । अधिवेशनमा पाँच प्रतिशत प्रतिनिधि मनोनयनका विषयमा भएको विवाद बढ्दै जाँदा असहज, आक्रमक र आतंकित परिस्थिति देखा परेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘जिल्ला कमिटीबाट पाँच प्रतिशत मनोनयन हुने प्रतिनिधिका सम्बन्धमा जिल्ला कमिटी अध्यक्षबाट प्रस्ताव प्रस्तुत हुँदा बैठकका सहभागीहरूबाट छलफलको माग गर्दैगर्दा जिल्ला कमिटी अध्यक्षले जबरजस्ती प्रस्ताव पेश गर्दै एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि बैठक कक्षमा असहज परिस्थिति सिर्जना हुन पुग्यो। जसको फलस्वरुप जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्कासमेत भयो । सो दिनको भोलिपल्ट माघ २० गते बन्दसत्रको शुरूवातबाट नै अघिल्लो दिनभन्दा बढी असहज, आक्रमक र आतंकित परिस्थिति देखा पर्यो । यही कममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको छ’, विज्ञप्तिमा ढुंगेलले भनेका छन् ।
अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । तर, तनाबको स्थिति आएपछि अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको छ ।