वासिङ्टन डिसी, माघ १८
मेटाका कार्यकारी प्रमुख मार्क जुकरबर्गले सामाजिक सञ्जालले बालबालिकालाई असर गरेकोप्रति माफी मागेका छन् ।
बुधबार अमेरिकी सिनेटमा भएको सुनुवाइका क्रममा जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले बालबालिकालाई पर्न गएको असरप्रति उनीहरूको परिवारसँग माफी मागेका हुन् ।
सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै जजसले आफ्ना बच्चाहरूको तस्बिर राखेका थिए उनीहरूलाई सम्बोधन गर्दै जुकरबर्गले माफी मागे ।
समाचार संस्था रोयटर्सका अनुसार बुधबार सुनुवाइ सुरू हुनेबित्तिकै एउटा भिडिओ देखाइएको थियो।जसमा बालबालिकाहरूले सामाजिक सञ्जाल प्लेटमार्फत आफूमाथि भर्चुअल दुर्व्यवहार भएको बताएका थिए ।
त्यस्तै विभिन्न लोभ देखाएर सामाजिक सञ्जालमार्फत अन्तरङ्ग तस्बिर साझा गर्न लगाउने र पछि ब्ल्याकमेल गरी पैसा माग्ने र बालबालिकाहरू आत्महत्या गर्न बाध्य हुनेसम्मका विषय सिनेटरहरूले बताएका थिए ।
‘तपाईंको उत्पादनले असर गरेका बालबालिकाका परिवारसँग माफी माग्न चाहनुहुन्छ?’ रिपब्लिकन सिनेटर जोश हलेले जुकरबर्गलाई सोधेका थिए ।
त्यसपछि जुकरबर्गले उठेर त्यस्ता परिवारसँग माफी मागेका हुन् ।
‘तपाईंहरूले भोग्नुपरेको पीडाका लागि म क्षमाप्रार्थी छु। आगामी दिनमा यस्ता कुराहरूलाई नियन्त्रण गर्न लागिरहेका छौं। कसैले पनि यस्तो ब्योहोर्न नपरोस् भन्ने सुनिश्चित गर्न बढीभन्दा बढी लगानी गर्नेछौं,’ जुकरबर्गले भने ।
सिनेटमा जुकरबर्गको सुनुवाइ स्थानीय टेलिभिजनमा लाइभ गरिएको थियो। त्यसक्रममा उनीविरूद्ध सिनेटर हले आक्रामक रूपमा प्रस्तुत भएका थिए ।
‘तपाईंको उत्पादनले मानिसहरूलाई मारिरहेको छ,’ उनले भनेका थिए ।
फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, ह्वाट्सएप लगायतका सामाजिक सञ्जाल प्लेटफर्म जुकरबर्गको स्वामित्वमा छ । एजेन्सी