काठमाडाैं, ३० वैशाख-
स्थानीय तहको निर्वाचनको दिन आज निजी तथा सार्वजनिक यातायात ठप्प छ । सरकारले सबै प्रकारका यातायात बिहान ६ बजेदेखि मतदान नसकुन्जेलसम्मका लागि बन्द गरेको हो । आज सार्वजनिक बिदा पनि हो ।
तर, आपतलीन प्रयोजनमा प्रयोग हुने एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाडी निर्वाध रुपमा चल्छन् ।
अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनु नपर्ने निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
अन्य अत्यावश्यक सेवाका सवारीसाधनका लागि सवारी पासको व्यवस्था गरिएको छ । नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मी र उनीहरूेले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक पर्दैन । तर, प्रेस पास नभएका सञ्चारकर्मीले भन जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ ।- न्युज कारखाना