चितवन, बैशाख ३० –
नेपाली कांग्रेस चितवनका जिल्ला सभापति राजेश्वर खनालसहित माओवादी केन्द्रका जिल्ला संयोजक आरसी अधिकारीलाई मध्यरातमा स्थानीयले नियन्त्रणमा लिएका छन् ।
साथमा रहेकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रका स्वकीय सचिव निशा न्यौपानेलाई पनि स्थानीयले नियन्त्रणमा लिएका छन् ।
राति १ बजे उनीहरु पैसा बाँड्दै मतदाता प्रभावित पार्न हिँडेको भन्दै भरतपुर–१३ रामजानकी टोलका उनीहरुलाई स्थानीयले नियन्त्रणमा लिएका हुन् । सकुम्बासीहरुहरुको बाक्लो बसोबास रहेको सो क्षेत्रमा राति उनीहरु मतदातालाई प्रभावित गर्न गएका हुन् ।
उनीहरु रातको १ बजे बा १६ च ७५४४ नम्वरको स्कारर्पियो गाडीमा मतदाता प्रभावित पार्ने खालको मतपत्र लिएर हिडेका थिए । उनीहरुको साथबाट नमुना मतपत्रको चिट खोसेर स्थानियले च्यातिदिएका छन् ।
गाडीमा पैसा लुकाएको हुनसक्ने भन्दै स्थानीयहरुले गाडी खानतलासी गर्न खोजेका थिए । तर प्रहरीले अवरोध गरेका स्थानीयले बताएका छन् ।
फोटो भिडियो खिच्ने क्रममा पनि आफूहरुको मोबाइल खोसेर फालिएको स्थानीयको भनाइ रहेको छ ।